
काठमाडौं, वैशाख २ । हिमोफिलिया सोसाइटी नेपालले हिमोफिलियायुक्त व्यक्तिहरुको जीवनरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको छ ।
हिमोफिलियालाई व्यक्तिगत् पहुँचभन्दा टाढा रहेको खर्चालु रोगकोरुपमा लिने गरिन्छ ।
विश्व स्वास्थ्य संगठन र विश्व हिमोफिलिया महासंघलेसमेत यसलाई राज्यको सहयोग बिना उपचार सम्भव नहुने रोगकोरुपमा लिने गरेको छ ।
सोसाइटीले हाल नेपालमा करिब ३ हजार हिमोफिलिया रोगी रहेको बताएको हो ।
सोसाइटीका अध्यक्ष वेदराज ढुंगानाले सरकारसँग पटक–पटक सहयोगका लागि माग गरेपनि यसका रोगीको संख्या थोरै हुँदा ठोस कदम चाल्न नसकिएको बताए ।
आन्तरिक वा बाह्यरुपमा जोर्नी तथा मांसपेसीहरुमा निरन्तर रगत बगिरहने समस्या हिमोफोलिया हो ।
रगत जमाउनका लागि आवश्यक तत्व ‘क्लोटिंग फ्याक्टर’को कमीले हुने यो रोग वंशानुगत् हो । यसका रोगीलाई रगत जमाउने तत्व ‘क्लोटिंग फ्याक्टर’ निरन्तर दिइराख्नु पर्दछ ।
रोगीलाई हप्तामा एउटा ‘क्लोटिङ्ग फ्याक्टर’ आवश्यक हुने र त्यसको मूल्य करिब ५ सय अमेरिकी डलरपर्ने हुँदा यसको उपचार अति नै महँगो हुने गरेको छ ।
सोसाइटीले विश्व हिमोफिलिया दिवस २०१६ सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्