Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


२० विद्यालयमा ‘बिहेवारी २० वर्षपारि’ अभियान


0
Shares

म्याग्दी, वैशाख ३ । पछिल्लो समय बिहे गर्ने उमेर नै नपुगी बिहे गरिदिने चलन बढ्दै गएपछि म्याग्दी जिल्लाका २० वटा विद्यालयमा ‘बिहेवारी २० वर्षपारि’ अभियान सञ्चालन भएको छ ।

किशोरावस्थामा गरिने विवाहका कारण शारीरिक, मानसिक तथा पारिवारिक समस्या देखिन थालेपछि कलिलो उमेर गरिने विवाह रोक्नलाई अभियान सञ्चालन गरिएको हो ।

जिल्लाको बाबियाचौर, अर्मन, दरबाङ, निस्कोट, ओखरबोट, देवीस्थान, विम, ताकम, मुना, मुदी, लुलाङ, गुर्जासहित २० वटा गाविसका सामुदायिक विद्यालयमा युवा सञ्जाल गठन गरी बाल विवाहको विरुद्धमा ‘बिहेवारी २० वर्षपारि’ अभियान सञ्चालन गरिएको हो ।

विद्यालय उमेर समूहका बालबालिकालाई लक्षित गरी म्याग्दीका गाउँगाउँमा सानै उमेरमा हुने गरेको बिहे रोक्न पहल थालिएको युवा महिला सञ्जाल म्याग्दीका अध्यक्ष लक्ष्मी विश्वकर्माको भनाई छ ।

उनका अनुसार बालविवाहकै कारण धेरै किशोरीको स्वास्थ्य तथा पारिवारिक समस्या देखिएको भन्दै बालविवाहलाई निरुत्साहित गर्न दुर्गम गाविसमा समेत जनचेतनामूलक कार्यक्रम लगिएको छ ।

उनका अनुसार ‘लाहुरेको जिल्ला’का नामले चिनिने पहाडी जिल्ला म्याग्दीमा वैदेशिक रोजगारमा गएका युवा, आर्थिक अवस्था कमजोर भएकाले छोरीलाई विवाह गरेर दिने गरेको आफ्नै आँखाले देखेपछि अभियानको सुरुवात गरिएको हो ।

महिला तथा बालबालिका कार्यालय म्याग्दी, जिल्ला बालकल्याण समिति, प्लान नेपाल, सहमतिलगायतका सङ्घसंस्थाले उक्त अभियानमा साथ दिएका छन् । पश्चिम म्याग्दीका युवा क्लब, बाल क्लबसँगै विद्यालयस्तरमा पनि बालविवाह रोक्न कक्षामै पुगेर जनचेतना फैलाउने गरिएको छ ।

अभियानअन्तर्गत बालविवाह गर्न खोज्नेलाई सामाजिक बहिष्कार गरिनेसम्मको चेतावनी दिइएको छ ।

म्याग्दीको पश्चिम भेगबाट सुरु भएको अभियानलाई जिल्लाभर विस्तार गर्न जिल्लास्तरीय किशोरी तथा महिला सञ्जाल पनि स्थापना गरिएको छ । अभियानबाट सामुदायिक विद्यालयमा अध्ययरत सबै विद्यार्थीलाई सञ्जालमा आबद्ध बनाएर अभियानलाई प्रभावकारी बनाउँदै बालविवाहलाई शून्यमा झार्ने लक्ष्य लिइएको छ । (रासस)