१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


लेस्टर सिटी र आर्सनल बराबरीमै रोकिए


0
Shares

काठमाडौं, वैशाख ६ । इङ्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएका खेलहरुमा दाबेदार टोलीहरु लेष्टर सिटी र आर्सनलले आ–आफ्नो खेलमा बराबरीमै चित्त बुझाएका छन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको लेष्टर सिटीलाई वेष्ट ह्याम युनाईटेडले २–२ गोलको बराबरीमा रोकेको हो । खेलमा लेष्टरका जेमी भार्डीले पहिलो गोल गरेपनि यसपछि भार्डी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

१० जनामा समेटिएको लेष्टरविरुद्ध वेष्ट ह्यामका एण्डी क्यारोल र आरोन क्रेशवेलले १–१ गोल गरे । तर अन्त्यतिर लेष्टरका उलोवाले पेनाल्टीमार्फत १ गोल गर्दै टोलीलाई हारबाट जोगाएका हुन् ।

प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा आर्सनललाई क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा रोकेको छ । खेलमा आर्सनलका अलेक्सीस सान्चेजले पहिलो गोल गरेपनि क्रिष्टल प्यालेसका यानीक बोलासीले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई २÷१ ले हरायो ।

इङ्लिश प्रिमियर लिग फुटबलमा गएरातिका खेलहरुपछि ३४ खेलबाट ७३ अंक जोडेको लेष्टर सिटी शीर्ष स्थानमा छ । एक खेल कम खेलेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने तेस्रो स्थानको म्यान्चेस्टर सिटी र चौथो स्थानको आर्सनलको समान ६० अंक रहेको छ ।

प्रिमियर लिग अन्तर्गत आज राती हुने खेलमा टोटनह्याम हट्सपरले स्टोक सिटीसँग खेल्नेछ ।