
-हरिविनोद अधिकारी
नेपाली राजनीतिमा एउटा अचम्मको चरित्र देखापरेको छ-सत्ता प्राप्तिका लागि जे पनि गर्ने र जो सँग पनि सम्झौता गर्ने । संसदमा अङ्क त जहिले पनि पुग्ने र नपुग्ने हुन्छ तर सिद्धान्त जहिले पनि एउटै हुन्छ आधारभूत सिद्धान्तचाहीं । नयाँ संविधानमा नै भनियो कि संविधान घोषणा भएको एक हप्तामा नै सरकार परिवर्तन गर्ने । परिवर्तन भयो । एमालेको सरकार बन्यो र एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनु भएको छ । एमालेमा नै अध्यक्षको नेतृत्व गरेको यो सरकार घोर गुटबन्दी र पक्षपाती छ भनेर आरोप लगाइन्छ भने पक्कै नै यो सरकार अरु विपक्षी , झन प्रमुख प्रतिपक्षीप्रति कति असहिष्णु होला ?
कस्तो कस्तो सिद्धान्तको स्खलन देखिन्छ भने राप्रपा नेपाल र माओबादीसँगको गठबन्धन छ । एमाले आफूलाई समाजवादी भन्ने गर्दछ र अग्रगामी सोचको कम्युनिस्ट पार्टीको रुपमा आफैँलाई स्वीकार गर्छ ।यता केही वर्ष देखि लोकतन्त्रका मान्यताप्रतिको आदर्शलाई मानेको पनि छ । सरकारमा जाने भने पछि जस्तो पनि सम्झौता गर्दोरहेछ भन्ने यसपटकको नतिजाले देखाएको छ । भलै सरकार प्रमुखले यसलाई गणितको खेलको रुपमा मानून् ।
अहिले एमालेमा देखिएको समस्या साँच्चै सिद्धान्तको हो कि स्वार्थको हो भन्ने स्पष्ट अझै छैन । पूर्व प्रधान मन्त्री माधव नेपालजीले सरकार चलाउँदा सिद्धान्तको आधार बनाएका थिए र काँग्रेससँग सम्बन्ध बढाएका थिए तर पछि काँग्रेसलाई मत नदिने एमालेको नीतिप्रति मौन बस्दा मुलुकले नयाँ समस्या भोग्न बाध्य भयो किनभने संविधान बनेन पहिलो संविधान सभाले अनि अर्को संविधान सभाको निर्वाचन गर्नका लागि कत्रो महाभारत पर्यो ।
अहिलेको समस्या पनि सिद्धान्तसँग सम्बन्धित जस्तो लाग्छ । माओबादी , राप्रपा र झिना मसिना दलले चाहेको जे पनि दिएर सत्ता टिकाउने खेल देखिन्छ । लोकतान्त्रिक शक्तिलाई ललीपपको लोभ देखाउने अनि सरकारमा आएन भनेर अपवित्र गठबन्धनलाई निरन्तरता दिने जस्तो । यसले पश्चगामीहरुलाई सहज हुन्छ तर पश्चगामीहरु नै लोकतन्त्रवादीहरुको मेख मार्न यो सरकारलाई जस्तो पनि सहयोग गर्न तयार छन् आफ्नो शक्ति सञ्चय गर्नका लागि । फेरि एमालेका अर्को तप्काले र काँग्रेसले नपत्याउने तागतले अहिले सरकारलाई कठपुतली बनाएको छ र प्रधानमन्त्री ओलीलाई उनीहरुका विरुद्ध उचालेको छ ।
अहिले राष्ट्रवादको कुरा आवश्यकता भन्दा बढी नै उरालिएको छ । मानौँ हामी कसैसँग युद्ध गर्न लागेका छौँ र युद्धमा होमिएकाले जनतलाई लड्न उत्साहित गरिराखेका छौँ । सरकार र आन्दोलित मधेसकेन्द्रित दलहरुका बिचको मतैक्यता के देखिन्छ भने दुबैथरि आफूलाई सच्याउन तयार छैनन् । राजनीतिको माखेसाङ्लोमा रुमलिएका हामी नेपालीहरु ग्रान्ड डिजाइनको त्यो पाटोप्रति अनभिज्ञ छौँ कहीँ यी दुबै अतिको कारक एउटै पात्र त होइन ? दुवैलाई फरक फरक विन्दुबाट उरालेर नेपालमा आफ्नो पकड बनाइरहने । यस्तो पहिले पनि भएको थियो माओबादीलाई एकातिर आतङ्ककारी घोषणा गर्ने अनि तिनै माओबादीलाई सबै सहयोग गरी मुलुकलाई अस्थिर बनाइरहने । अनि माओबादीचाहीं सुरुङ युद्धको धम्की दिने । यो निकट अतीतको इतिहास हो ।
अहिले पनि त्यो माखेसाङ्लो पो छ कि भन्ने राजनीतिक विश्लेषकहरु ठान्न थालेका छन् किनभने सरकार अपवित्र गठबन्धनमा सिद्धान्तहीन तरिकाले कसरी चलेको छ त नत्र ? एमालको पनि असन्तुष्टि देखिन्छ, माओबादीको पनि असन्तुष्टि देखिन्छ अनि विपक्षी काँग्रेस त अप्ठेरोमा नै छ । न सरकार गिराउन सक्छ, न त सरकारका कामलाई ठीक नै भन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्