१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023


कानुन नबन्दा समस्या : राष्ट्रियसभा अध्यक्ष


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, असार २८ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन नबन्दा संविधानमा उल्लेख गरिएका हक कार्यान्वयनमा समस्या भएको बताएका छन् ।

बिहीबार पर्वतको मोदी गाउँपालिकास्थित पातिचौर–मैदान–लप्सीबोट सडकको शुभारम्भ कार्यक्रममा बोल्दै उनले संघीय सरकारले आवश्यक कानुन निर्माण गर्न नसक्दा प्रदेश र स्थानीय सरकारका काम–कारबाही प्रभावित भएको बताए ।

‘हामीले संविधानमा सबै कुराहरु व्यवस्था गरेका छौं’–उनले भने–‘संविधानमा भएका कुराहरुलाई कार्यान्वयनमा लैजाने विषय चुनौतीपूर्ण छ ।’

उनले देश समृद्धिको बाटोमा अगाडि बढिसकेको बताउँदै समृद्ध बनाउनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले विकास नै राज्यको पहिलो प्राथमिकता भएकाले विकास निर्माणका कार्यहरुमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेसमेत बताए ।

उनले झिना–मसिना काममा अड्केर बस्ने समय नभएको भन्दै सरकारलाई पूर्णसहयोग गर्न सबै पक्षलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य पदम गिरीले पर्वत जिल्लालाई विकास निर्माणका क्षेत्रमा मुलुककै अग्रणी जिल्ला बनाउने गरी काम भइरहेको बताए ।