काठमाडौं, जेठ ३ । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको आज एक वर्ष पूरा भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको एक वर्ष पूरा भएको हो ।
गत वर्षको जेठ ३ गते एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रमबीच पार्टी एकता भएको घोषणा गरेका थिए । तर तीन महिनामा एकता सक्ने गरी बनाइएको कार्यतालिका अझै पूरा हुन सकेको छैन । नेतृत्वको कार्यशैली, व्यस्तता, नेताहरुबीच देखिएको भागबण्डालगायत कारण नेकपाको एकीकरण प्रक्रियाले अझै पूर्णता पाउन नसकेको हो ।
प्रदेश, जिल्ला हुँदै बल्ल नेकपाले भ्रातृ संगठनहरुको एकता टुंगो लगाएको छ । तत्कालीन नेतृत्वलाई नै निरन्तरता दिने गरी नेकपा सचिवालयले भ्रातृ संगठनको संयोजक र उपसंयोजक तय गरेको हो । सचिवालयले गरेको निर्णयकोे घोषणासमेत आज भइसकेको छ । तर पोलिट्ब्युरो गठन, नेताहरुको जिम्मेबारी बाँडफाँट लगायतबारे भने नेकपाले अझै निर्णय गर्न सकेको छैन ।
त्यसैगरी दुई वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरिएको भए पनि त्यसको मिति अझै तय भएको छैन । केन्द्रीय समिति र स्थायी समिति गठन भए पनि सक्रिय देखिएका छैनन् । पार्टी सञ्चालनको पूर्ण अधिकार सचिवालय बैठकले लिएपछि केन्द्रीय समितिको बैठक एक पटक पनि बसेको छैन भने स्थायी समितिको तीन वटा बैठक औपचारिकतामा सीमित भएको छ ।









प्रतिक्रिया दिनुहोस्