काठमाडौं, जेठ ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनहरुको नेतृत्व टुंगो लगाएको छ ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको एक वर्षपछि जनवर्गीय संगठनहरुको नेतृत्व टुंगो लागेको हो । नेकपाको हिजो बसेको सचिवालय बैठकले तत्कालिन एमाले र माओवादीबीच भागबण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजकमा सहमति जुटेको हो । छलफलबाट टुंगो लागेका जनवर्गीय संगठनका पदाधिकारीको औपचारिक घोषणा भने आज विशेष कार्यक्रम गरेर सार्वजनिक गरिने भएको छ ।
नेकपा सचिवालय बैठकले विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोकेको छ । युवा संगठनमा रामप्रसाद सापकोटा संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएका छन् । महिला संगठनको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुर संगठनको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।
प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारीको नाममा सहमति जुटाइएको छ । प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक तथा बुद्धिजीवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन् ।
यस्तै, पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहयात्री सहसंयोजकमा सहमति जुटेको छ । यसैगरी मुस्लिम संगठनमा सराज महमद फारुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्माको नाममा सहमति जुटेको छ ।
यस्तै, भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक हुने भएका छन् भने सहसंयोजकको नाममा सहमति भएको छैन ।









प्रतिक्रिया दिनुहोस्