Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


मधेसको माग कांग्रेसले सम्बोधन गर्नसक्छ : महामन्त्री कोइराला


0
Shares

वासिङटन डिसी, वैशाख १३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेसको माग कांग्रेसले सम्बोधन गर्नसक्ने बताएका छन् ।

अमेरिका भ्रमणकाक्रममा आइतबार भर्जिनियामा जनसम्पर्क समिति भर्जिनियाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने–‘कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको अडानका कारण संविधान जारी भएको हो । सातदशक लामो अथक प्रयासबाट संविधान आएकामा खुसी छु’–कोइरालाले अगाडि भने–‘अब संविधान आएको छ, यसको कार्यान्वयन गर्ने जिम्मा हामीहरुको हो ।’

महामन्त्री कोइरालाले १३औं महाधिवेशनले कांग्रेसमा ६० र ४० को भागबन्डा अन्त्य गरिदिएको दाबी पनि गरे ।

कोइरालाले पार्टीको आन्तरिक संरचनामा परिवर्तन गर्दै प्रविधिमैत्री ढाँचामा अगाडि बढाउनुपर्नेमा जोड दिँदै भने–‘अब हरेक गाविसलाई सूचना–सञ्जालबाट जोड्न सक्दो प्रयत्न गर्नेछु ।’

सरकार परिवर्तनको विषयमा टिप्पणी गर्दै कोइरालाले भने–‘हामी सरकार परिवर्तनको पक्षमा छैनौं तर व्याप्त कालोबजारी, भूकम्पपीडितको मर्का र दातृनिकायमार्फत् संकलित रकमको उपयोगविहीनताले सरकारको नैतिक आधार गुमेको अवस्था छ ।’ रासस

फाइल फोटो