Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


खाजा खाँदा ८ जना बिरामी


0
Shares

जितेन्द्र भण्डारी

पाँचथर, जेठ २ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा खाजा खाँदा आठ जना बिरामी परेका छन् । बिरामी परेकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

बिरामी पर्नेमा १७ वर्षीया रेनुका दास, १९ वर्षीया बिष्णु विक र सोना लिम्बू, ९ वर्षकी मुना लिम्बू, २३ वर्षीया मनकुमारी फियाक, २२ वर्षीया लक्ष्मी लिम्बू, १८ वर्षकी मनिषा लिम्बूलगायतथ छन् । उनीहरुमध्ये लक्ष्मी र मनिषा सिकिस्त अवस्थामा रहेका छन् । उनीहरुको सदरमुकाम फिदिमको समर्पित अस्पतालमा उपचार भइरहेको छ ।

अन्य बिरामीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्थानीय जस्मिता फियाकको घरमा चलिरहेको तीन महिने ढाका बुनाई तालिम लिइरहेका उनीहरु वैशाख ३० गते थुक्पाको खाजा खाएपछि बिरामी भएको बताइएको छ ।

उनीहरुलाई बुधबार अस्पताल भर्ना गरिएको हो । शंका लागि उनीहरुले खाएको खाजामा प्रयोग गरिएको नुन हेर्दा सिसाका कण जस्ता वस्तु भेटिएको फाल्गुनन्द–२, का वडा अध्यक्ष समेत रहेका तालिम आयोजना गरिरहेको संस्था मिलन केन्द्र नेपालका अध्यक्ष बहादुरसिं नेम्वाङले बताए ।

तालिमको प्रशिक्षकसमेत रहेकी घरधनी जस्मिताका अनुसार घटना भएको अघिल्लो दिन राती घरको किचन खुला छाडिएको थियो । सोही मौका छोपी कसैले नुनमा विषाक्त वस्तु मिसाएको हुन सक्ने आशंका गरिएको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।