काठमाडौं, असार २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा ट्रमा सेन्टरका एक चिकित्सकलाई गृह मन्त्रालयले धम्की दिएको भन्दै आपत्ति जनाएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेसका सांसद अमरेशकुमार सिंहले ट्रमा सेन्टरका डा. भोजराज अधिकारीलाई ‘अपहरण शैलीमा अस्पतालबाटै उठाएर गृह मन्त्रालय लगेर धम्की दिएको’ भन्दै आपत्ति जनाए ।
गत मंगलबार डा. अधिकारीलाई गृहमन्त्रीको आदेशमा जबर्जस्ती गृह मन्त्रालय लगेर आफूले भनेबमोजिम रिपोर्ट तयार पार्न धम्की दिएको समाचार प्रकाशनमा आएको थियो ।
शून्य समयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद किशनकुमार श्रेष्ठले मुलकका विभिन्न स्थानमा बाढी–पहिरोबाट पीडितलाई तत्काल राहत पुर्याउन सरकारको ध्यानाकर्षण गराए ।
शून्य समयमा उमेश श्रेष्ठ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, खगराज अधिकारीलगायतका सांसदले समसामयिक समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकको विशेष समयमा बोल्दै सांसद प्रदीप गिरीले संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई अमानवीय तरिकाले विमानस्थलबाट फर्काउनु सरकारको अधिनायकवादी शैली भएको टिप्पणी गरे ।
सांसद अमनलाल मोदीले बाढी–पहिरो प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले ढिलाइ गरिरहेको आरोप लगाए ।
सांसद अनिलकुमार झाले हरेक नागरिकको बाँच्न पाउने अधिकार राज्यले सुनिश्चित गर्नुपर्ने भन्दै अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षाको माग गरे ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्