Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


आज कानुन दिवस मनाईंदै, प्रधान न्यायाधीशले दिइन शुभकामना


0
Shares

काठमाडौं, बैशाख २६ । आज नेपालमा विभिन्न कार्यक्रम गरी कानून दिवस मनाइदैछ । नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रुपमा विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेलाई कानून दिवसका रुपमा मनाइँदै आएको छ ।

यस अवसरमा प्रधान न्यायाधीश सुशीला कार्कीले ६ दशक अगाडि स्थापित न्यायपालिका र अवलम्बित न्याय पद्धतिले नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवं नागरिकका हक अधिकार तथा स्वतन्त्रता संरक्षण गर्न न्यायपालिकाले जिम्मेवारीबोधका साथ आफ्नो भूमिका निर्वाह गरिरहेको बताएकी छिन् ।

कानुन दिवसको सन्दर्भमा सन्देश दिँदै उनले विभिन्न चुनौती सामना गरी न्यायपालिकाको स्वतन्त्रतालाई जोगाउने अग्रज न्यायाधीश, न्यायकर्मी, कानून व्यवसायी, कर्मचारी, सञ्चारकर्मीलगायत सबै नेपाली नागरिकले गरेको योगदानको स्मरण गर्दै सम्मान व्यक्त गरेकी छिन् ।

नेपालको संविधानले नागरिकका हक अधिकारको संरक्षण तथा संघीयतामा आधारित लोकतान्त्रिक शासन पद्धति र विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्ने गहन दायित्व र जिम्मेवारी न्यायपालिकालाई सुम्पेको उनको भनाई छ ।

संवैधानिक दायित्वलाई बोध गर्दै जनताप्रति उच्च समर्पणका साथ न्यायिक सेवाको गुणस्तर, प्रभावकारिता तथा न्यायमा सहज पहुँच अभिवृद्धिमार्फत् ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने लक्ष्य साकार पार्न न्यायपालिका प्रतिबद्ध र क्रियाशील रहँदै आएको उनले उल्लेख गरेकी छन् ।

Skip This