७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


काभ्रेपलाञ्चोक ‘कोरोनामुक्त’


0
Shares

काठमाडौं । कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ ।

काभ्रेपलाञ्चोकका सङ्क्रमित छ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन् । सङ्क्रमितहरु दुई सातादेखि काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका थिए ।

सङ्क्रमितको स्वास्थ्यमा क्रमिक सुधार आएपछि पछिल्लो स्वाब परीक्षणको रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएपछि छ जना नै शुक्रबार साँझ घर फर्किएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमान्ड पोष्टले जनाएको छ ।

यसपछि काभ्रेपलाञ्चोक कोरोना भाइरसमुक्त भएको हो । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार घर फर्किएकालाई होम क्वारेन्टिनमा बसाइएको छ । सङ्क्रमितमध्ये दुई महिला हुन् ।

रोशी गाउँपालिकाका तीन, पाँचखाल नगरपालिकाका एक र पनौती नपाका एक तथा काभ्रेपलाञ्चोक घर भई एक ललितपुर र एक काठमाडौं बस्नेमा कोरोना सङ्क्रमण भएको थियो ।

सङ्क्रमितमध्ये चार जना भारतबाट फर्किएका नागरिक रहेको पोष्टले जनाएको थियो ।

डिस्चार्ज भई होम क्वारेन्टिनमा बसेकाको स्थानीय स्वास्थ्यकर्मीबाट निगरानी गरिने झाले बताए । सङ्क्रमितको स्वास्थ्य सुरक्षामा विशेष निगरानी भइरहेको झाले बताए ।

पोष्टका अनुसार हाल जिल्लास्थित विभिन्न क्वारेन्टिनमा भारतलगायत विदेशबाट फर्किएका २२ महिलासहित ८७ जना बसेका छन् ।