
हरिविनोद अधिकारी –
नेपालीमा एउटा उखान पहिलेदेखि नै प्रचलित छ— ‘नयाँ बोतलमा पुरानो रक्सी’ । नयाँ गठन भएको नेकपा माओवादी केन्द्रलाई हिजो माओवादी भएर जनयुद्धमा होमिएका वामपन्थी सर्जकहरुका भाषामा नै त्यसो भनिएकाले यस्तो उपमा दिन हिम्मत गरिएको हो । छ पनि त्यस्तै अवस्था । किन हिजो विभाजन भयो र आज फेरि कुन त्यस्तो प्रेरणाले जुट्न मद्दत पुर्यायो भन्ने प्रश्नको राजनीतिक जवाफ भने यो केन्द्र निर्माणले दिँदैन ।
पार्टीहरु जुट्नु एकदम सकारात्मक कुरा हो तर किन जुटे र कहिले फुट्लान् भन्ने पनि प्रश्न उत्तिकै टड्कारो रुपमा मनन्योग्य हुँदो रहेछ नेपाली वामपन्थी फुट र जुटको प्रक्रियामा । नेपाली कम्युनिस्ट आन्दोलनका उँचो व्यक्तित्व बनाएका भीष्म पितामहहरुलाई बामपुड्के दलको रुपमा छोडेर कस्तो सैद्धान्तिक खाकामा कम्युनिस्ट पार्टीहरु बन्दैछन् भन्ने जिज्ञासा सबैलाई हुने गर्दछ । प्रचण्ड आफैँले प्रचण्डपथ छोडेर र प्रचण्डपथका भाष्यकारलाई पार्टीबाट बाहिर जान बाध्य पारेर अहिले फेरि अर्को नाटक रच्दै एकताको प्रक्रिया अघि बढाउनुलाई नै भनिएको होला नयाँ बोतलमा पुरानो रक्सी ।
२०१७ सालमा १०९ सदस्यीय तल्लो सदनमा जम्मा ४ जना सांसद रहेको एक्लो कम्युनिस्ट पार्टीलाई पञ्चायत एउटा मलिलो उर्वर स्थान बन्न पुगेकोले होला, पञ्चायत ढलेपछिको आम निर्वाचनमा २०५ जनाको तल्लो सदनमा ८१ विभिन्न दलका कम्युनिस्टहरु सांसद हुन पुगेका थिए र २०५१ मा त अल्पमतको पहिलो सरकार बनाउनै सक्षम भएको इतिहास साक्षी छ । एक प्रकारले कम्युनिस्ट शासनको झझल्को दिने पञ्चायत र अहिलेको गठबन्धनको नियत पनि त्यस्तै देखिन थालेकोमा राजनीतिक पर्यवेक्षकहरु अचम्म मान्न थालेका छन् । एउटा रणनीति अन्तर्गत उग्र वामपन्थी र उग्र दक्षिणपन्थीको सहारामा टिकेको यो अस्थिर सरकारका केही उद्गार र केही अभ्यासले नयाँ वामपन्थी राज्यको झझल्को दिन थालेको बेलामा माओवादी केन्द्रको स्थापना भएको छ । यसलाई माओवादीको अन्यौलग्रस्त मानसिकता या चतुर रणनीतिक चाल दुवैको शंकाले हेर्न सकिने अवस्था छ ।
जुन तरिकाले यो एकताको नाटक गरिएको छ, त्यसलाई कसैको राजनीतिक प्रायोजनका रुपमा हेर्ने पनि छन् भने कोही फगत एउटा आत्मरतिको नाटकमात्र हो भन्ने पनि छन् । धमिलो पानीमा माछा मार्ने प्रवृत्ति पुरानै हो । माओवादीको जन्म र जनयुद्धसमेतको प्रायोजनमा पनि धमिलो पानीमा माछा मार्ने नियतले मात्र काम गरेको थियो भन्ने कुरा धेरैओटा उदाहरणबाट प्रमाणित भएकै हो । संविधान कार्यान्वयन हुन नसक्ने अवस्थामा तयार गरिएको वैकल्पिक व्यवस्थाको रुपमा हेर्ने र पुराना वाम नेताहरुलाई खुइल्याएर नयाँ प्रवृत्तिलाई उजागर गर्नका लागि गरिएको नाटकको रुपमा मान्नेहरु पनि छन् । तर माओवादी केन्द्रमा रहेका एमाओबादी भित्रका शान्तिवादीहरुको तेजोबध गर्नका लागि पहिलो चरणमा यो केन्द्र तर सफल भएकोचाहिँ मान्नैपर्दछ । सधै अर्काको कमजोरीमा आफूलाई सुदृढ बनाउँदै आएको मूल पार्टीलाई अहिले कसैले प्रयोगशाला बनाएको हो भने पनि आखिर प्रायोजनमा त परेको नै ठहरिन्छ ।
अहिलेका यो केन्द्र स्थापनामा लोकतान्त्रिक प्रक्रियालाई प्रवर्द्र्धनको लक्ष्य पटक्कै देखिँदैन, त्यसैले पनि प्रायोजन वा नयाँ लोकतन्त्र विरुद्धका रणनीति हो कि भन्ने आभास पाइएको हो । केन्द्रको निर्माणमा देखिएको नयाँ संख्या नै उदेकलाग्दो छ । निर्वाचन हुनु परेन, टपक्क टिप्ने अनि बनाउने अनि पुरानालाई तेजोबध गरेको भने पाइयो । पुरानालाई छेउमै पुर्याएर धकेल्ने नियतले नै सुरु भएको नयाँ गठबन्धनले दिने परिणाम नै सुखद हुँदैन भने भावी दिनमा आन्तरिक विवाद र कुसंस्कारका कारणले जसले पनि प्रयोग गर्ने वा जसलाई पनि प्रयोग गर्ने रोगले सताउने छ । सत्ताको अधिकतम प्रयोग गर्ने गरी संसदीय व्यवस्थाका विरुद्धमा लाग्ने कुरा यसले संकेत गरेको छ, जसले तत्कालै संसदवादीहरुसँगको मुठभेडको बारेमा अनुमान गर्न सकिन्छ ।
नयाँ सरकारको नेतृत्व र नयाँ बजेटको अपनत्व लिन आँटेकै बेलामा भएको यो अनपेक्षित एकताले पक्कै नै गठबन्धनमा रहेको एमालेलाई झस्काएको हुुनुपर्दछ । संसदीय व्यवस्थाको पक्षधर र प्रजातान्त्रिक समाजवादको नयाँ स्वरुपमा देखिएको एमाले र पुरानो प्रजातान्त्रिक समाजवादी नेपाली कांग्रेसका लागि भावी गठबन्धनको नयाँ बाटो खोलेको देख्ने पर्यवेक्षकहरु पनि छन् एकातिर भने अहिलेको सरकारले आफ्नो ठाउँ नछोडेर कांग्रेसको सहयोगमा नयाँ प्रक्रिया अघि बढाउने सम्भावना पनि देख्दैछन् ।
विधि, संसदीय आचरण र लोकतान्त्रिक प्रक्रिया विरुद्धमा भएको एकताले विद्यमान राजनीतिक समीकरणमा नयाँ ध्रुवीकरण ल्याउने छ र संसदमा बजेट आउनु अगावै नयाँ समीकरणको स्वरुप भित्रभित्रै तयार हुँदैछ भन्ने सूचनामा दम छ भन्ने देखिन्छ । अबको समीकरण र ध्रुवीकरण प्रजातन्त्रका पक्षमा र विपक्षमा विभाजित हुने छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि हुँदैनन् तर राजनीतिको मूल चुरो भनेको सिद्धान्त हो, सैद्धान्तिक आधारमा समीकरण परिवर्तन हुँदा नयाँ ध्रुवीकरण जो अवश्यम्भावी छ । हुनु पर्ने पनि त्यही हो, जो शीघ्र हुनेवाला छ । लोकतन्त्र र विधिको शासनको विकल्प खोज्नेहरुको विकल्पचाहिँ जनताले खोजेकै हुन् र नेपाली जनता त्यसैमा दृढ छन् भन्ने सन्देश अब आवश्यक छ लोकतन्त्रका विरोधीहरुलाई ।
प्रतिक्रिया दिनुहोस्