Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


महरा इतिहासकै कायर सभामुख : देउवा, सडकबाटै सरकार ढाल्ने चेतावनी


0
Shares

काठमाडौं, वैशाख २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै कायर सभामुखको संज्ञा दिएका छन् ।

नेपाली कांग्रेसले बुधबारदेखि सुरु गरेको राष्ट्रिय जागरण अभियानको बुधबार काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा मर्यादाहीन अभिव्यक्ति दिएको जान्दा–जान्दै पनि सभामुख महराले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गर्न नसकेको बताए ।

संसदमा प्रश्न सोध्न पाउने सांसदहरुको अधिकारको हस्तक्षेप गरेर संसदलाई नै सरकारको नियन्त्रणमा राखिएको उनको आरोप थियो ।

आफूइतरका विषयमा लेख्ने, बोल्नेलाई विभिन्न बहानामा धम्क्याउने, जेल हाल्ने, सुरक्षा परिषद् ऐन परिवर्तन गरेर सेनामा कब्जा जमाउने, मानवअधिकार आयोगलाई नियन्त्रणमा राख्नेजस्ता क्रियाकलापले सरकार अधिनायकवादी भएको पुष्टि गरेको उनको जिकिर थियो ।

सडकमा रेलिङ भाँच्ने र संसदमा कुर्सी फोड्ने प्रतिपक्षी नभएपनि यस्तै रवैया रहिरहे सडकबाटै ओली सरकारलाई ढाल्ने चेतावनी पनि उनले दिए ।

‘सरकार अधिनायकवादी व्यवस्था लागू गर्न तम्सियो’

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले सरकार संविधान मास्दै अधिनायकवादी व्यवस्था लागू गर्न तम्सिएको भन्दै त्यसको खिलापमा जानुपर्ने अवस्था आएको बताए ।

सरकारकाविरुद्ध टोल–टोलमा जागरण अभियान चलाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

‘सार्वजनिकरुपमा बहस गर्न तयार’

यस्तै, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदमासमेत बोल्न नदिएर सरकार अधिनायकवादको नांगो तयारीमा लागेको आरोप लगाए ।

आफूहरुले संसदमा उठाएका एक–एक प्रश्नको सार्वजनिकरुपमा बहस गर्न तयार रहेको भन्दै उनले संसदीय मर्यादाविपरीत एक शब्द प्रयोग नगरिएको दाबी गरे ।

कांग्रेसले बुधबार ७७ जिल्लामा एकैपटक जागरण अभियानको उद्घाटन गरेको छ । यो अभियान एक महिनासम्म चल्ने जनाइएको छ ।

भिडियो हेर्नुहोस्