Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘मेरो सरकार’ जानीबुझी राखियो : प्रधानमन्त्री


0
Shares

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रममा देखेको ‘सपना देश बनाउने र भविष्यको सपना’ भएको स्पस्ट पारेका छन् ।

मंगलबार नीति तथा कार्यक्रमका विषयमा संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले देखेको सपना राति निदाएका बेला देखिनेजस्तो नभइ दिउँसै र ब्युँझिएकै बेला देखेको सपना भएको स्पष्टीकरण दिएका हुन् ।

विपक्षी दलहरुले ‘दिउँसै सपना देखेको’ भनेर नीति तथा कार्यक्रमको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले देश बनाउने सरकारको सपना भएको स्पस्ट पारे ।

उनले सरकारले देखेको सपना देश बनाउने अठोटको भएको र सोही सपना साकार पार्न सरकारले संकल्प र अठोट लिएको बताए ।

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द जानीबुझी राखेको बताए ।

उनले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै सरकारले सो शब्द प्रयोग गरेको र शब्द चयनमा सरकारले कुनै भुलचुक र गल्ती नगरेको स्पस्ट पारे । अर्थलाई अनर्थ लगाउने गरी व्याख्या गर्नु उचित नहुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संविधानले राष्ट्रपतिलाईसमेत केही अधिकार दिएको बताए ।

उनले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गर्दा त्यसमा आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताए ।

राष्ट्रपति गरिमामय संस्था भएकाले जुनसुकै दलको सरकार भएपनि राष्ट्रपतिकै सरकार हुने उनको भनाइ थियो ।

सरकारको नीति तथा कार्यक्रममा ‘संविधान सर्वस्वीकार्य भइसकेको’ उल्लेख भएकोबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिलेका लागि संविधान सर्वस्वीकार्य भएपनि आवश्यकता र औचित्यका आधारमा परिमार्जन गर्दै जान सकिने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्न, गतिशील बनाउन र जनताको एकतालाई सुदृढ बनाउन आवश्यकता र औचित्यका आधारमा जहिले पनि संविधान संशोधन गर्न सकिने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा उल्लेख भएको ‘पूर्णलोकतन्त्र’का विषयमा पनि आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताए ।

सबै क्षेत्रलाई लोकतान्त्रिक बनाउँदै अघि बढ्ने सरकारको प्रतिबद्धतालाई तानाशाही भन्न नहुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम समृद्ध मुलुक बनाउने संकल्प भएको बताए ।

कतिपय योजना दीर्घकालीन सोचका साथ सरकारले अघि बढाएको भन्दै उनले यसलाई धेरै छलफलको विषय बनाउन आवश्यक नरहेको बताए ।

सरकारले मुलुकको समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याएको, सरकारको पहिलो वर्षमा स्थायित्व कायम गर्न सफल भएको र सुशासनको दिशामा मुलुक अघि बढिरहेको दाबी प्रधानमन्त्री ओलीले गरे ।

उनले आर्थिक गतिविधि बढाउने नीति सरकारले लिएको भन्दै कृषि उत्पादन वृद्धि र उद्योग स्थापनालाई प्राथमिकता दिइएको जानकारी दिए ।

त्यसैगरी, व्यापारघाटा कम गर्न उत्पादन वृद्धिमा जोड दिइएको प्रधानमन्त्रीले बताए । यस वर्ष व्यापार घाटा बढे पनि आगामी वर्ष विस्तारै कम गर्दै लगिने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले मुलुकमा ७६१ ओटा सरकार भएपनि ती स्वतन्त्र नभएको भन्दै यसमा बहस नगर्न सुझाव दिए ।

सबै सरकार संघ मातहतकै हुने तर अधिकारका विषयमा केही विवाद भए अन्तरप्रदेश परिषद्को बैठकमा छलफल गरी समाधान गरिने जानकारी दिए ।

उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको, सुन तस्करीलगायतका विषय नियन्त्रणमा आइसकेको, सार्वजनिक जग्गा अतिक्रमण रोक्नेलगायतका विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए ।