काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ विघटन भए लगतै तदर्थ समिति गठन गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन ।
नेबिसंघले त्यसको दोष माउ पार्टी नेपाली कांग्रेसको नेतृत्वलाई लगाएको छ । लामो समयसम्म तदर्थ समितिसमेत गठन नहुँदा बिद्यार्थी संघमाथि नै प्रश्न चिन्ह खडा हुन थालेको छ ।
आफूलाई लोकतन्त्रको मसिहा दाबी गर्ने नेपाली कांग्रेसले आफ्नै भ्रातृ संगठन भंग गरेर पनि पूर्णता दिन सकेको छैन ।
पार्टी सभापति शेरबहादुर देउवाले तत्कालै तदर्थ समिति गठन गर्ने आश्वासन दिए पनि गुटगत राजनीतिलाई पश्रय दिँदा नेवि संघको तदर्थ समितिसम्म गठन हुन नसकेको हो ।
नेतृत्व नहुँदा नेविसंघको क्रियाशीलता मात्रै घटेको छैन बिद्यार्थीहरुसमेत निराश भएका छन् ।
विद्यार्थी नेताहरुले अब पनि पार्टी नेतृत्वले आलटाल र ढीलासुस्ति गरे पार्टी कार्यालय मात्र हैन नेताहरुको घरसमेत घेरेर निर्णयमा पुग्ने चेतावनी दिएका छन् ।
नेविसंघभित्र सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका समूह छन् ।
सिटौला समूहले पार्टी नेतृत्वलाई तत्काल तदर्थ समिति गठनको चेतावनी दिँदै आएको छ ।
नेताहरुले नेबिसंघलाई आफ्नो गुटको प्रयोगशाला बनाउन खोज्दा संगठनको अस्तित्व नै संकटमा परेको यो समूहको ठहर छ ।
माउ पार्टी कांग्रेसले सरकारविरुद्ध जागरण अभियान सञ्चालनको घोषणा गरिसक्दा पनि नेतृत्व नहुँदा नेविसंघ भने जागरण अभियानमा ओझेलमा पर्ने देखिएको छ ।
तदर्थ समिति नबन्दा नेबिसंघले सरकारबिरुद्धका आन्दोलनका कार्यक्रमलाईसमेत प्रभावकारी बनाउन सकेको छैन । जसको अपजस नेपाली विद्यार्थी संघले लिनुपरेको छ ।
विधानअनुसार तदर्थ समितिले ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, त्यो सम्भावना अहिले देखिएको छैन ।
नेपाली कांग्रेसका नेता नबिन्द्रराज जोशी नेबिसंघलाई नेताहरुको गुटउपगुटको रुपमा प्रयोग गर्ने नभई बिद्यार्थी संगठनको रुपमा अगाडि बढाउनु पर्ने बताउँछन् ।
उनले अब बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले नेबिसंघको बिवाद टुंग्याउने बताए ।
नेविसंघको उमेर हदको विषयलाई लिएर भएको विवाद तत्काल मिल्ने संकेत देखिएको छैन । विधानकै व्यवस्थाअनुसार तदर्थ समिति गठन गर्न कांग्रेसका नेताहरु सहमत भए भने तदर्थ समिति गठनमा ठूलो समस्या भने देखिँदैन ।









प्रतिक्रिया दिनुहोस्