काठमाडौं, जेठ ३० । एकीकृत माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरिएको छ ।
काठमाडौंको दशरथ रंगशालाबाट आज पार्टी गठनको औपचारिक घोषणा गरिएको हो । ‘अबको निकास, आर्थिक विकास’ भन्ने नाराका साथ नयाँ पार्टी घोषणा गरिएको हो ।
घोषणा सभामा देशका विभिन्न जिल्लाबाट आएका हजारौं पार्टी प्रतिनिधिहरु सहभागी थिए । घोषणा सभाअघि कुपण्डोल, बबरमहल, कालीमाटी र रत्नपार्कबाट र्याली निकालिएको थियो ।
घोषणा सभामा भारतका पार्टीका प्रतिनिधि पनि सहभागी थिए । त्यस्तै देशभित्रका लगभग सवै दलका प्रतिनिधिहरुले पनि नयाँ शक्ति नेपाललाई शुभकामना दिएका थिए ।
घोषणा सभालाई सम्बोधन गर्दै सो पार्टीका संयोजक डा. भट्टराइले पुर्खाले बनाएको र जोगाएको देशलाई अब समृद्धिको बाटोमा लैजान नयाँ शक्तिको आवश्यकता परेको तर्क गरे ।
संविधान सभाबाट जनताका प्रतिनिधिहरुले संविधान बनाई सकेकाले अपुग भएका विषयलाई संविधान संशोधन गरेर पूरा गर्न सकिने उनले बताए । नेपाल अब विकास निर्माणको चरणमा प्रवेश गरेको उनले त्यसको जिम्मेवारी नयाँ शक्तिले लिने बताए ।
समृद्ध नेपाल निर्माणको अवधारणा आफूसँग मात्रै रहेको दाबी गर्दै डा. भट्टराईले नयाँ शक्ति भईरहेका पार्टीहरुमा थपिने नयाँ पार्टी मात्रै नहुने बताए । देशको अर्थतन्त्र अब पनि परनिर्भर भइरहने हो भने देशको स्वाधिनता खतरामा पर्ने भन्दै उनले आर्थिक विकास र समृद्धिलाई मूल नारा बनाएर देशलाई अन्तरनिर्भर बनाउनु पर्ने बताए ।
सात बर्षभित्र मूल रुपमा गरिबी हटाउन सकिने र २५ बर्षभित्र नेपाललाई संसारको धनी देश बनाउन सकिने उनको भनाइ थियो । दुई ठूला देशहरुबीचको पुलको रुपमा देशलाई विकास गर्न सक्नुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।
कोही नेतामाथि भ्रष्टाचारको आरोप लाग्यो भने स्वतन्त्र लोकपाल बनाएर छानविन गर्नुपर्ने भन्दै भट्टराइले विगतको युद्धकालमा धेरै गल्ती भएको स्वीकार गरे ।
को कसबाट के भयो भन्ने छानवि गर्ने जिम्मा सत्य निरुपण आयोगलाई दिइएको भन्दै उनले आयोगले दिने निष्कर्ष आफूलाई मान्य हुने पनि बताए ।
नयाँ शक्ति नेपालको बन्द सत्र सोमबारदेखि राजधानीमै हुने छ भने सो पार्टीको विधि विधान तथा संगठनात्मक संरचनालगायतका विषय बन्द सत्रले टुंग्याउने छ ।










प्रतिक्रिया दिनुहोस्