
हरि शर्मा (इमेज)
परासी, वैशाख २२ । पश्चिम नवलपरासीमा चिर्पट (दाउरा) प्रहार गरेर एक युवकले आफ्नो बाबुको हत्या गरेका छन् ।
सरावल गाउँपालिका–२, दंगिया बस्ने २२ वर्षीय जब्बर मुसलमानले शुक्रबार राति ४५ वर्षीया बाबु अलाउद्दिनलाई सुतिरहेका बेला चिर्पट प्रहार गरेका थिए ।
जब्बरको मानसिक सन्तुलन ठीक नभएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
चिर्पट प्रहारबाट अलाउद्दिनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
मानसिक सन्तुलन बिग्रेपनि बाबुले हरेक दिन छोरासँग झगडा गर्ने गरेको स्थानीयले बताएका छन् । त्यसदिन पनि झगडा भएपछि अलाउद्दिन सुत्न गएका थिए ।
आवेगमा रहेका जब्बरले एक्कासि सुतिरहेको कोठामा गएर चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको हो ।
हत्या भएको जानकारी पाएर प्रहरी जाँदा अभियुक्त जब्बर घरमै टोलाएर बसेका थिए ।
उनलाई आवश्यक अनुसन्धानसहित कारबाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्