Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा


0
Shares

काठमाडौं, वैशाख २० । धोबीखोला वरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ ।

नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोला वरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो ।

नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो ।

नीलोपुल (गोपीकृष्ण हल) अगाडिको सरकारी जमिन सिट नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाइ कायम साबिक धोबीखोला कित्ता नम्बर ४३ बाट रोपनी कटाएर व्यक्तिको कित्ता नम्बर ३० मा घुसाएर विजय सम्बाहाम्फे र नन्दमाया लिम्बूका नाममा नक्सा सुधार गरिएको लालपुर्जा दिइएको छ ।

साबिक चपली ९ (ग) २ मा पर्ने धोबीखोलाको जग्गा नयाँ नापी हुँदा कायम कित्ता नम्बर १३३, १३४ र १४३ समेतमा घुसाइ व्यक्तिका नाममा दर्ता भएको छ ।

सम्बाहाम्फे लोयल्टी स्कुलका सन्चालकसमेत हुन् । उनी र उनकी श्रीमतीका नाममामात्रै चार रोपनी सरकारी जमिन दर्ता भएको छ ।

खोला कायम भइसकेको कित्ताबाट क्षेत्रफल कटाएर नक्सा सुधार गरी खोलाको जग्गासमेत मिसाइ कुलो पनि मासेर व्यक्तिका नाममा साबिकभन्दा थप ३–१५–०–१ जग्गा दर्ता गरिएको छ ।

धोबीखोला क्षेत्रको जमिन व्यक्तिका नाममा दर्ता भएको विषयमा छानबिन गर्न चाबहिल मालपोत कार्यालयका तत्कालीन प्रमुख शंकरप्रसाद भेटवालको संयोजकत्वमा समिति बनेको थियो ।

समितिले नीलोपुलदेखि लोयल्टी स्कुल हुँदै एकता बस्तीसम्मको धोबीखोला किनारको जमिन अतिक्रमण गरी भौतिक संरचना बनाइएको प्रतिवेदन बुझाएको थियो ।

समितिले प्रतिवेदन बुझाएको सात वर्ष पुगिसक्दा पनि सरकारी जग्गा अतिक्रमणकारीमाथि कुनै कारबाही भएको छैन ।

धोबीखोला क्षेत्रको सो जमिन कर्मचारीसमेतको मिलेमतोमा दर्ता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

नागरिक दैनिकबाट साभार ।