Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


राष्ट्रपति भण्डारी ल्हासामा


0
Shares

सुरेन्द्रबहादुर नेपाली (रासस)

ल्हासा, वैशाख १७ । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणकाक्रममा मंगलबार बेइजिङबाट ल्हासा आइपुगेकी छन् ।

उनलाई ल्हासाको गोंगर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरे ।

भ्रमणकाक्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च)मा सहभागी भइ उक्त मञ्चलाई सम्बोधन गरेकी थिइन् ।

सोमबार ‘ग्रेट हल अफ द पिपल’मा द्विपक्षीय बैठक भइ सात सम्झौतामा हस्ताक्षर भएको थियो ।

ती सम्झौतामध्ये आर्थिक तथा प्राविधिक सहयोगको सम्झौतानुसार चीन सरकारले नेपाललाई जीवनस्तर उकास्न, विपत्तिपछिको पुनःनिर्माण तथा आधारभूत संरचनाका क्षेत्रमा आपसी सहमतिका परियोजनामा लगानी गर्न एक अर्ब आरएमबी बराबरको सहयोग उपलब्ध गराउने भएको बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,  प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्छी, निजी क्षेत्रका प्रतिनिधि र सन्चारकर्मी रहेका छन् ।