२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


‘मन्त्रीहरुले संविधानविपरीत राजतन्त्र र संघीयताको विषयमा बोल्दै हिँडे’


0
Shares

काठमाडौं, असार १६ । व्यवस्थापिका–संसदको विहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद ईश्वरी न्यौपानेले संविधानबमोजिम सपथ लिएका मन्त्रीहरुले संविधानविपरीत राजतन्त्र र संघीयताको विषयमा अभिव्यक्ति दिँदै हिँडेको भन्दै संसदको ध्यानाकर्षण गराएकी छन् ।

उनले सरकारले निर्वाचन घोषणा गरेको अवस्थामा मन्त्रीहरुले संविधानविरोधी अभिव्यक्ति दिइरहेको भन्दै त्यसबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरिन् ।

यस्तै, सांसद जानकराज जोशीले संसद बहिस्कारको प्रावधान नभएपनि विगत ९ महिनादेखि संघीय गठबन्धनले संसद बहिस्कार गर्दै आएको भन्दै संसदको ध्यानाकर्षण गराए ।

सांसद गौरीशंकर चौधरीले प्रत्येक वर्ष बाढीको चपेटमा नागरिक पर्दै आएको भन्दै बाढी–पहिरो व्यवस्थापन, र उद्दारबारे सरकारले पूर्वसूचना दिने व्यवस्था तत्काल लागू गर्नुपर्नेमा जोड दिए ।

उनले कैलाली, कन्चनपुर, दैलेख, अछामलगायतका जिल्लामा अघिल्लो वर्षका पीडितले हालसम्म पनि राहत नपाएको बताए ।

संसद बैठकको विशेष समयमा बोल्दै सांसद चिनकाजी श्रेष्ठले भूकम्पबाट प्रभावित गोरखा सिलपीबास गाविसका भूकम्पप्रभावित पहिरोको चपेटामा परेको भन्दै दैवीप्रकोप वा प्राधिकरणमार्फत् तत्काल पहिरो प्रभावित क्षेत्रमा पुनःनिर्माणको काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

विहीबारको बैठकमा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले ‘विशेष आर्थिक क्षेत्र विधेयक, २०७१ र औद्योगिक व्यवसाय विधेयक, २०७१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी गरेको प्रस्ताव पारित भएको छ ।

यसैगरी, बैठकमा विनियोजन विधेयक, २०७३ मा शान्ति तथा पुनःनिमाण मन्त्रालय, गृह मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय र अर्थ मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल भएको छ ।

फाइल फोटो