Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


अध्यक्ष दाहाल भन्छन् :ओलीजीले छलकपट गर्नुभयो


0
Shares

काठमाडौं, असार १९ । एमाले–माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको छ ।

यसअघि झन्डै भत्किसकेको दुई दलको गठबन्धन वैशाख तेस्रो साता भएको सहमतिपछि जोगिएको थियो । सरकार गठनका क्रममा दुई दलबीच आठबुँदे र वैशाखमा नौबुँदे लिखित सहमति भएको थियो ।

बजेट पारित भएसँगै माओवादीको नेतृत्वमा सरकार बनाउने तीनबुँदे भद्र सहमतिसमेत भएको थियो । एमालेले यी सहमति कार्यान्वयन गर्न नचाहेको माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालय बैठकको निष्कर्ष छ । सरकारको विकल्पबारे खुला हुने निर्णय पनि उसले गरेको छ ।

‘एमालेसँगको नौबुँदे सहमति लागू भएन, प्रधानमन्त्री उदासीन देखिए । केही कानुनी प्रक्रिया अघि बढाउन खोजिएजस्तो देखिए पनि मूल स्पिरिटमा काम भएन,’ माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले भने, ‘इमानदारीपूर्वक काम नभएपछि हामी सरकारका विषयमा आजबाट थप छलफल गर्न खुला भएर आएका हौँ ।’

सरकार परिवर्तनका विषयमा अन्य दलसँग छलफल गरेर निर्णयमा पुग्न बैठकले अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

बैठकमा प्रचण्डको ब्रिफिङ : ओलीजीले छलकपट गर्नुभयो

एमालेसँग वामपन्थीहरूको सरकार बनाउने, लामो समयसम्म सहकार्य गरेर जाने उद्देश्यका साथ दुवै पार्टीका शीर्ष नेताको टिम नै बसेर निष्कर्षमा पुगेका थियौँ । शान्तिप्रक्रियाका मुद्दा, संविधान कार्यान्वयनलगायतका विषयमा केन्द्रित रहेर साझा अवधारणासहित सत्तागठबन्धन बनाएका हौँ ।

तर, उसले सहमति कार्यान्वयन गरेन । फेरि वैशाखमा नौबुँदे लिखित सहमति गरयौं । त्यसैवेला दुई पार्टीबीच तीनबुँदे भद्र सहमति पनि भएको थियो । त्यो सहमतिमा सरकारको नीति तथा कार्यक्रम र बजेटसम्म ओलीजी प्रधानमन्त्री हुने र त्यसपछि हामीलाई सत्ता हस्तान्तरण गर्ने कुरा थियो ।

तर, अहिले ती केही पनि कार्यान्वयन भएनन् । प्रधानमन्त्री ओलीसँग मैले शुक्रबार पनि यस विषयमा कुराकानी गरेँ । हामीसँग भएको लिखित र भद्र सहमति पालना नभएकोमा निकै गम्भीर भएर विषय राखेँ । तर, ओलीले अहिले आएर तीनबुँदे भद्र सहमति थाहै नभएको बताए ।

‘मलाई थाहै छैन, कुन सहमतिको कुरा गरेको रु कहाँ भएको थियो त्यस्तो सहमति’ भनेर उहाँ प्रस्तुत हुनुभयो । यो सीधै छलकपट भयो । त्यसले हामीलाई नैतिक प्रश्न उठ्यो, गाह्रो भयो ।

अब प्रक्रिया सुरु गरौँ, सकभर राष्ट्रिय सहमतिमा जोड दिऔँ, भएन भने, सहमतिअनुसार एमालेसँगै छलफल गरी सरकार हस्तान्तरण गर्ने दिशामा जाऔँ । त्यो पनि भएन भने नयाँ कोर्सबाट मुद्दा मिल्नेसँग सहकार्य गरेर अगाडि बढौँ

-रामकृष्ण अधिकारी, नयाँ पत्रिका दैनिकबाट