Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सरकार सार्वजनिक जग्गा अतिक्रमणका घटना ढाकछोप गर्न उद्दत : देउवा


0
Shares

काठमाडौं, वैशाख १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बालुवाटारलगायतका सार्वजनिक जग्गा अतिक्रमणका घटना ढाकछोप गर्न लागिपरेको आरोप लगाएका छन् ।

सोमबारदेखि सुरु प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले भू–माफियाले सरकारी जग्गा कब्जामा गरेको तथ्यसहित सार्वजनिक हुँदा पनि सरकार चुपचाप बसेकोप्रति आश्चर्य प्रकट गरे ।

अतिक्रमण गर्नेलाई छुट दिइँदैन : नेम्वाङ

बैठकलाई सम्बोधन गर्दै सत्तारुढ दल नेकपाको संसदीय दलका उपनेता सुवास नेम्वाङले सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोसुकैलाई पनि छुट नदिइने दाबी गरे ।

प्रतिपक्ष पनि राज्यको एक अंग भएको भन्दै उनले पक्ष–विपक्ष नभनी जनताका आकांक्षा पूरा गर्न लाग्नुको विकल्प नभएको बताए ।

गहन छानबिन गर्न माग

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको सरकारी जग्गा अतिक्रमणको गहन छानबिन गर्न माग गर्दै अतिक्रमणमा आफ्नो संलग्नता देखिए सजाय भोग्न तयार रहेको बताए ।

आरोप

यस्तै, राजपा नेपाल अध्यक्षमन्डलका सदस्य अनिलकुमार झाले सरकार राजपालाई बलपूर्वक सडक आन्दोलनमा जान बाध्य पारिरहेको आरोप लगाए ।

सरकारबाट बाहिरिने चेतावनी

संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले संविधान संशोधनको मागप्रति बेवास्ता जारी रहे सरकारबाट बाहिरिने चेतावनी दिए ।

शोकप्रस्ताव पारित

बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य भिक्षु अश्वघोष, संविधानसभाका पूर्वसदस्य दिवाकर गोल्छा, प्रतिनिधिसभाका पूर्वसदस्यद्वय रुद्रमणि भण्डारी र रामकृष्ण ताम्राकारको निधनप्रति शोकप्रस्ताव पारित गरिएको थियो ।

राष्ट्रियसभाको बजेट अधिवेशन पनि सोमबारैदेखि सुरु भएको छ ।