
नवीनराज कुइँकेल (इमेज)
लमजुङ, वैशाख १६ । लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोट, साँखरकी १३ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ ।
हत्या अभियोगमा एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
यही वैशाख ९ गते घाँटीमा सल बेरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अर्चलबोटको लक्ष्मीनारायण माध्यमिक विद्यालयको कक्षा–६ मा पढ्ने १३ वर्षीया अनिशा परियारको मृत्यु अस्वाभाविक देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
बालिकाको नाताले हजुरबुवा र हजुरआमा पर्ने दोर्दी–३, श्रीमञ्ज्याङका ४५ वर्षीय राजकुमार परियार र उनकी श्रीमती ४९ वर्षीया जालु परियारलाई हत्या अभियोगनमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तो छ घटना
हजुरबुवा–हजुरआमा र आमा–बुवासँगै अनिशा तनहुँको बाइसजँघारमा बिहेभोजमा गएका थिए ।
बिहेभोजपछि बुवा काममा गएको र आमा किताब किन्न गएपछि अनिशा नाताले हजुरबुवा–हजुरआमासँगै घर फर्केकी थिइन् ।
अनिशालाई घर पुर्याएपछि राजकुमार आफ्नो घर नगइ एक्ली अनिशासँगै बसेको प्रहरी स्रोतले बताएको छ ।
घरभित्र रहेकी अनिशालाई जबर्जस्ती गर्न खोजेको र नमानेपछि घटना बाहिर आउने डरले किशोरीलाई घाँटीमा अँठ्याएको राजकुमारले स्वीकारेका प्रहरीले जनाएको छ ।
स्थानीयले घटना भएको दिन राजकुमार र उनकी पत्नी उक्त ठाउँमा भएको जानकारी दिएपछि दुवैजनालाई पक्राउ गरी अनुसन्धान गर्दा पोल खुलेको प्रहरी प्रमुख डीएसपी यादव ढकालले जानकारी दिए ।
घटना वैशाख ९ गते भएपनि हत्याजस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो ।
प्रारम्भिक अनुसन्धानकाक्रममा दम्पत्तीले बालिकालाई कर्तव्य गरेको स्वीकार गरेपछि थप कारबाही प्रक्रिया अगाडि बढाएको डीएसपी ढकालले बताए ।
दम्पत्तीलाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर थप अनुसन्धान थालिएको छ ।
उनीहरुविरुद्ध कर्तव्य ज्यान अभियोगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्