
काठमाडौं, असार २४ । संसदको संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा डा. अयोधीप्रसाद यादवको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
समितिको आज बसेको बैठकमा यादवको सुनुवाई भएको हो । लगत्तै बैठकले यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
समितिको बैठकमा यादवले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । संसदीय समितिको अनुमोदनसँगै यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो खुलेको छ ।
संवैधानिक परिषदको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । कार्यवाहक प्रमुख आयुक्त यादवको पुनर्नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंगो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका थिए । तर, उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीका बारेमा सोधपुछ गर्न सम्भव नभएकाले सिधै संसदीय सुनुवाइ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्