Logo १३ माघ २०८२, मंगलबार | Wed Jan 28 2026


रोटीबेटीको सम्बन्ध उपेक्षित भएको भन्दै सांसद शाहले मोदीलाई लेखे पत्र (पत्र हेर्नुहोस्)


0
Shares

काठमाडौं, असार २८ । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन् । उनले दुई देशबीच सदिऔंदेखि कायम रहँदै आएको ‘रोटीबेटीको सम्बन्ध’ उपेक्षित भएको गुनासो गर्दै मोदीलाई पत्र लेखेका हुन् ।

उनले पत्रमा लेखेका छन्, ‘भारतसँग नेपालको रोटीबेटीको सदिऔं पुरानो सम्बन्ध खिन्न छ, यसको कारण तपाईकै उदासिनता हो ।’

उनले नेपाली जनताले भारतप्रति निकै ठूलो आशा गरिरहेको उल्लेख गर्दै पत्रमा लेखेका छन्, ‘तपाईले चाहनुभयो भने मोबाइल तथा सामान्य फोन महसुल शुल्कको ठूलो अन्तरलाई सामान्य गर्न सक्नुहुन्छ ।’

सोमबार मोदीलाई लेखेको पत्रमा सांसद शाहले भनेका छन्, ‘तपाईले सत्ता सम्हालेको चौथो महिनामा ४ अगस्ट २०१४ मा हाम्रो संसदमा सम्बोधन गर्नुभयो । तपाईले भारतको सहयोग तथा दुई देशबीचको सम्बन्धसँग जोडिएका कयौं महत्वपूर्ण कुरा गर्नुभयो जसमा दुरसंचार सेवा पनि सामेल थियो ।’ तर अफसोच, त्यस दिशामा कुनै प्रयास अहिलेसम्म नभएको उनको भनाइ छ ।

उनले भारतका चेली नेपालमा बुहारी बनेर तथा नेपाली चेली भारतमा बुहारी बनेर रहँदै आएको चर्चा गर्दै पत्रमा लेखेका छन्, ‘मोदी सर, के तपाईलाई थाहा छ, नेपालबाट भारतमा फोनबाट कुरा गर्दा प्रतिमिनेट सवा रुपैयाँदेखि सवा दुई रुपैयाँ शुल्क लाग्छ तर भारतबाट नेपालमा कुरा गर्दा प्रतिमिनेट १० रुपैयाँ चुकाउनु पर्छ ।’

टेलिफोन शुल्कमा देखिएका असमानताका कारण दुई देशबीच व्यापार बृद्धि र नागरिकबीच आपसी कुरा गर्न गहिरो खाडल बनेको उनको ठहर छ । उनले पत्रमा भनेका छन्, ‘यसलाई रोटीबेटीको सम्बन्धमा एउटा ठूलो पर्खालका रुपमा हेर्न थालिएको छ ।’

सांसद शाहले इमेजखबर डट कमसँग कुरा गर्दै सार्वजनिक चासोका विषयमा आफूले भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेखेको बताए ।