Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


चाँगुनारायणमा ५६३ रोपनी जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी


0
Shares

                                                                फाइल फोटो

भक्तपुर, असार २८ । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–१४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी गरेको छ ।

त्यस क्षेत्रको मंगलबार निरीक्षण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जग्गा अस्पतालका लागि उपयुक्त भएकाले यही जग्गामा वीर अस्पताल बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङलाई निर्देशन दिए ।

मन्त्री पौडेल, उपकुलपति गुरुङ, चिकित्सकहरुको टोलीले त्यसक्षेत्रको अवलोकन गरेको थियो ।

सरकारले बजेट भाषणमार्फत् अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक वीर अस्पताल बनाउने कार्यक्रम सार्वजनिक गरेको थियो ।

काठमाडौंमा रहेको वीर अस्पतालका लागि ठाउँ अभाव भएपछि सरकारले सो अस्पताललाई उपत्यकाका अन्य स्थानमा सार्न विभिन्न ठाउँमा जग्गा खोजी भइरहेको जनाएको थियो ।

एमाले चाँगुनारायण नगर कमिटीका अध्यक्ष रमेश बुढाथोकी नेतृत्वको टोलीले गत असार ९ गते बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाँगुनारायण नगरपालिकामा वीर अस्पताल निर्माणका लागि आवश्यक उपयुक्त जग्गा रहेको जानकारी गराउँदै उक्त जग्गामा अस्पताल बनाउन आग्रहसहितको पत्र बुझाएको बुढाथोकीले जानकारी दिए ।

जग्गाको निरीक्षण गर्न चाँगु पुगेका मन्त्री पौडेलसमेतको टोलीलाई मंगलबार स्थानीयले स्वागत् गर्दै सोही क्षेत्रमा अस्पताल निर्माण गर्नुपर्ने माग राखेका थिए ।

त्यसअवसरमा मन्त्री पौडेलले भने–‘वीर अस्पताल निर्माणका लागि ९ स्थानमा जग्गा हेर्दा पनि उपयुक्त लागेन, यो जग्गा अस्पतालका लागि उपयुक्त छ, अस्पतालको नाममा जग्गा ल्याउने पहल आजैबाट सुरु हुन्छ ।’

चाँगुनारायण नगरपालिका क्षेत्रका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपालगायतका स्थानीय नेता र बासिन्दाले उक्त जग्गामा अस्पताल निर्माण गर्ने निर्णय गर्न मन्त्री पौडेलसँग आग्रह गर्दै स्थानीयले कुनै विवाद नगर्ने बताएका थिए । रासस