
काठमाडौं, असार २९ । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त अचार्यको योगदानको स्मरण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा रहेको उनको पूर्णकदको शालिकमा आज माल्यार्पण गरिएको छ ।
भानु प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली भाषा र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत प्राडा बासुदेव त्रिपाठी र चलचित्र निर्देशक यादव खरेललाई सम्मान तथा अभिनन्दन गरियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति प्राडा जीवराज पोखरेलले उनीहरुलाई सम्मान प्रदान गरे ।
समारोहमा उपकुलपति उप्रेतीलगायतका साहित्यकारले नेपालका राष्ट्रिय विभूतिका रुपमा रहेका आदिकविको योगदानको बारेमा चर्चा गरे । सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले आदिकविप्रति पुष्पहार चढाएका थिए ।
समारोहमा भानुजयन्तीको अवसरमा बुधबार आयोजित प्रभातफेरीमा सर्वोत्कृष्ठ ठहरिएको अन्नपूर्ण उच्चमावि असनलाई प्रथम पुरस्कार प्रदान गरियो ।
प्रभातफेरीमा सरस्वती उच्चमावि क्षेत्रपाटी दोस्रो, इन्टेनशीप इन्टरनेशनल कमलादी तेस्रो घोषित भए भने नन्दीमावि नक्साल र रिभेरा इन्टरनेशनलले सान्त्वना पुरस्कार प्राप्त गरे ।
यसअघि भानुभक्तको तस्बीरलाई व्यान्डवाजासहित दुईघोडे बग्गीमा राखेर नगर परिक्रमा गराएको थियो । प्रभातफेरीका अवसरमा प्राडा त्रिपाठी र चलचित्र निर्देशक खरेललाई पनि रथारोहण गराइएको थियो ।
भानु प्रतिष्ठानले २०३३ साल देखि औपचारिकरुपमा प्रभातफेरी र रथारोहण कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानका अध्यक्ष प्राडा व्रर्तराज आचार्यले जानकारी दिए ।
यसअघि नेपाली शिक्षा परिषद्ले आजै बिहान दरवार हाइस्कुल परिसरमा रहेको भानुको अर्धकदको शालिकमा माल्यार्पण गरिएको थियो । नेपाली शिक्षा परिषद्ले २०१० सालदेखि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
संसारभरको नेपालीले भानुभक्तलाई नेपाली भाषा तथा जातीय चेनताका प्रतिकका रुपमा सम्मान गरी भानुजयन्तीलाई पर्वका रुपमा मनाउँदै आएका छन् ।
विसं १८७१ साल असार २९ गते तनहुँको रम्घामा जन्मनुभएका भानुभक्तले घाँसीको प्रेरणाबाट रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपालीलाई भाषाको माध्यमबाट एकताको सूत्रमा जोडेका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस्