फाइल फोटो
काठमाडौं, असार २९ । वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बुधबार आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा बुझाएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उपप्रधानमन्त्री रायमाझीले केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामापत्र बुझाएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले राससलाई जानकारी दिए ।
माओवादी केन्द्रले एमालेसित भएको ९ बुँदे र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै मंगलबार सरकारबाट फिर्ता हुने र आफ्नो नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रसको सहयोगमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।
केन्द्रको पदाधिकारी बैठक र संसदीय दलको बैठकले सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिइ मार्गप्रशस्त गर्न आग्रहसमेत गरिसकेको छ ।
केन्द्रले बुधबारै व्यवस्थापिका–संसद बैठक बस्नुअघि नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जनाएको छ ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा २०७२ साल असोज २४ गते तत्कालीन एकीकृत नेकपा माओवादी सरकरमा सहभागी भएको थियो । रासस





प्रतिक्रिया दिनुहोस्