Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


अख्तियारद्वारा यातायात कार्यालयका दुई बिचौलिया पक्राउ


0
Shares

-अनिल तिवारी/ईमेज

वीरगन्ज । नारायणी यातायात कार्यालय वीरगन्जबाट चालक अनुमति पत्र बनाइदिने दुइ जना बिचौलियलाई अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

घुस दिए वापत स्क्राभेटरक चालकको अनुमति पत्र (लाइसेन्स) बनाइदिने दुई जना बिचौलियालाई ३१ हजार रुपैयाँसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

लाइसेन्स बनाए वापत सेवाग्रहीबाट ३१ हजार रुपैयाँ लिने क्रममा वीरगन्ज वडा नम्बर ९ निवासी रोशन कुमार रौनियार र बाराको उमजन गाँउपालिका वडा नम्बर ९ निवासी सुनिल यादवलाई अख्तियार दुरपयोग अनुशन्धान आयोग हेटौंडाको टोलीले रंगेहात पक्राउ गरेको हो ।

प्रमाण पत्र दिने व्यक्तिले स्क्राभेटर चालकको प्रमाण पत्र बनादिने वापत ३१ हजार रुपैंयाँ लेनदेन भइरहेको घटना स्थलबाट नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग मकवानपुर शाखाका अधिकृत शिवराम महर्जनको नेतृत्वमा आएको टोलीले दुबै जनालाई पक्राउ गरेको हो ।

वीरगन्जको लक्ष्मणवामा स्थित नारायाणी यातायात व्यवस्था कार्यालयको मुलगेटमा संचालित रहेको शिखर इन्सुरेन्समा काम गर्ने रौनियार र यादवलाई इन्सुरेन्स कार्यालयको  काउण्टरबाटै नियन्त्रणमा लिइएको हो ।

दुबैजनाले लाइसेन्स बनाइदिने वापत पहिला नै ३५ हजार रुपैयाँ लिएको र थप ३१ हजार माग गरेपछि सेवाग्रहीले दिएको सुचनाको आधारमा अख्तियारको टोलीले उक्त कारवाही गरेको हो  ।

अख्तियारले दिएको नम्बर नोट गरिएको रकम बरामद भएपछि दुवै जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको टोलीमा सहभागी प्रहरी नायब निरीक्षक हनुमान साहले बताए ।

यातायात कार्यालयका कर्मचारीहरुको संलग्नताबारे   अनुसन्धान भइरहेको प्रहरी नायब निरिक्षक यादवको भनाइ थियो ।

साथै गत फागुन १८ गते सवारी चलक अनुमति पत्रका लागि भएको परिक्षासंग सम्बन्धित कागजातहरु अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

रकम लिई लाइसेन्स उपलब्ध गराएको अभियोग अख्तियारको टोलीले पहिला पनि यातायात कार्यालय वीरगन्जका चारजना कर्मचारीलाई पक्राउ गरी आवश्यक कारवाही चलाइसकेको छ ।