७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


सरकारलाई अधिनायकवाद भन्नु गलत : गुरुङ


0
Shares

भक्तपुर, असार २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सरकारले आफ्नो अधिकार प्रयोग गर्दा सरकारलाई अधिनायकवाद भन्नु गलत भएको बताएका छन् ।

रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनताको विरोध गर्ने अधिकार मौलिक हक भएपनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकार भएको बताए ।

उनले भने–‘विरोध नै गर्न नपाइनेगरी निषेध गरिएको होइन । विरोध गर्ने निश्चित स्थान तोकिएको हो । लोकतान्त्रिक पद्धतिअनुसार सरकारले आफ्नो अधिकार प्रयोग गर्दा अधिनायकवाद भन्नु गलत हो ।’

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृतिबिना नै भएकाले रोकिएको बताउँदै उनले भने–‘कोइराला विधिअनुसार नचलेकाले यस्तो अवस्था आएको हो । कोइरालाले देशको कानुनभन्दा बाहिर गएर काम गर्न खोजेको पाइयोे । सरकारसँग स्वीकृति नै नलिइ विदेश भ्रमणमा जान लागेकाले रोकिएको हो ।’

चिकित्सा शिक्षा विधेयककाबारे जुम्लामा अनशनरत् डा. गोविन्द केसीको जायज माग जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्ने बताउँदै उनले सबै माग हुबहु सम्बोधन भने नहुने बताए ।

सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको चर्चा गर्दै गुरुङले केसीको उपचार काठमाडौं ल्याएर गर्न सरकारले प्रयास गर्दा केसीले आउन नमानेको बताए ।

पेट्रोलियम पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनुपर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न कठिनाइ भएको उनको भनाइ थियो ।

भारतबाटमात्रै नभइ चीनबाट पनि इन्धन खरिदको प्रक्रिया अघि बढाउन सरकारले प्रयास गरिरहेको उनको भनाइ थियो । रासस