२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


पहिरोमा परी माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित थप ७ जनाको मृत्यु


0
Shares

                                                            फाइल फोटो

प्यूठान, साउन १२ । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण प्यूठानमा बुधबार थप ७ जनाको मृत्यु भएको छ ।

मंगलबार राति फोप्ली–६ सीमामा पाँच घर पहिरोले बगाउँदा सातजनाको मृत्यु भएको हो ।

घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीसहित उनको श्रीमती विन्दु केसीको मृत्यु भएको छ ।

त्यस्तै, घटनामा परी नारायण केसीको मृत्यु भएको छ भने उनको श्रीमती नानुमैया केसीको उद्धार गरिएको छ ।

घर माथिबाट आएको पहिरोले घर बगाउँदा दोणबहादुर केसी र उनकी श्रीमती पवित्रा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी जाहेश्वर बुढाथोकी र उनकी श्रीमती पिमा बुढाथोकीको पनि मृत्यु भएको छ ।

त्यस्तै, फोप्ली–३ मा मंगलबार बेपत्ता भएका खस्की पुन, रक्षानी पुन, सेतुमा पुन, शेरबहादुर पुन, कुमारी पुन र टुकमला पुनसहित १३ जना अझै बेपत्ता रहेका छन् ।

उनीहरुको नेपाली सेवा, नेपाल प्रहरी तथा स्थानीयबासीको सक्रियतामा खोजीकार्य जारी राखिएको छ ।

यसैबीच, जिल्लास्तरबाट उद्धार तथा राहातका लागि प्रभावकारी भूमिका नभएको भन्दै जिल्लास्थित सरोकारवाला तथा राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बिहान सम्पन्न भएको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकमा दलले संयुक्तरुपमा प्रभावकारी उद्धार नभएको भन्दै सामूहिक ध्यानाकर्षण गराएको नेपाली कांग्रेस प्यूठानका सचिव देवेन्द्र वर्माले जानकारी दिए ।

त्यस्तै, जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लामा उद्धार तथा खोजकार्य प्रभावकारी बनाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।

जिल्लामा महाविपत्तिनै आएको भन्दै समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले जिल्लामा उद्धार तथा खोजका लागि नेपाली सेवा, नेपाल प्रहरी लगायतको पहिचालन प्रभावकारी बनाइएको बताए ।

जिल्लाको उत्तरी क्षेत्रमा यातायात र प्रभावकारी सन्चारको अभावमा समस्यासमेत भएको बताइएको छ ।

बुधबार बिहान सम्पन्न भएको समिति बैठकले जिल्लामा हाल दिँदै आएको तीन हजार राहत रकमलाई बृद्धि गरी पाँच हजार वितरण गर्नेसमेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै, प्यूठानमा हालसम्म मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । रासस