११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


श्रीलंका आक्रमणमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो


0
Shares

कोलम्बो, वैशाख ११ । श्रीलंकाको राजधानी कोलम्बोका तीनओटा पाँचतारे होटल र दुईओटा गिर्जाघर (चर्च)मा गत आइतबार भएका शृंखलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्याह्नसम्म ३५९ जना पुगेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ ।

विस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् ।

उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानीनजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा विस्फोट गराइएको थियो ।

यस्तै, राजधानीका पाँचतारे होटलहरु सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए ।

मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमासमेत शक्तिशाली विस्फोट भएको थियो ।

विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।

तर, सरकारले श्रीलंकामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशंका गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलंका सरकारको अनुमान छ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि मंगलबार राति सन्चारकर्मीसँग कुरा गर्दै देशको सुरक्षा संयन्त्रले घटनामा विदेशी संलग्नताको आशंका गरेको र केही तथ्य प्रमाणले त्यही देखाएको बताए ।

मंगलबार राति पनि श्रीलंकाली प्रहरीले खोज अभियान सन्चालन गरेको र त्यसक्रममा १८ जनलाई नियन्त्रणमा लिएको जनाएको छ । हालसम्म करिब ६० जनालाई पक्राउ गरिसकिएको छ ।

बौद्धमार्गी बहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् ।

गिर्जाघरहरुमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए । रासस/एएफपी