२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


माओवादी केन्द्रको अगुवाईमा सार्वजनिक जग्गा बाँडिदै


0
Shares

काठमाडौं, साउन १८ । सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादी केन्द्रले गोरखामा कानुन विपरीत सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको छ ।

हालै स्थानीयबासिन्दाको पहलमा व्यक्तिको कब्जाबाट मुक्त गराइएको नगरपालिका–९ को दरौंदी बगरको करिब पाँच सय रोपनी जग्गा केन्द्रले फेरि व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको हो ।

माओवादी केन्द्रले संघर्ष समिति गठन गर्दै उक्त जग्गा किसानलाई खेती गर्न दिन दबाब दिएको हो । केन्द्र निकट किसान संघका सचिव रामबहादुर खड्काको संयोजकत्वमा शनिबार ३१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

माओवादीको झण्डासहित नगर संयोजक कृष्ण रानाको नेतृत्वमा सार्वजनिक जग्गामा पुगेका उनीहरुले विभिन्न नारा लगाएका थिए । केही दिनअघि सुर्योदय युवा क्लवका युवक र स्थानीय बासिन्दा मिलेर उक्त जग्गा व्यक्तिको नियन्त्रणबाट मुक्त गरी खेलकुद मैदान निर्माण गर्ने तयारी गरिएको थियो ।

केन्द्रका नगर संयोजक रानाले दरौंदीको बगरमा किसानले ढुंगा टिपेर धान रोपेको भए पनि युवा क्लवले रोपोमाथि डोजर चलाएपछि समस्या आएको बताए । ‘सार्वजनिक जग्गा राज्यले छुट्याउनु पर्छ, क्लवले होइन,’ उनले भने, ‘बगरलाई संरक्षण गरेर किसानले खेती गरेका हुन् ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट