नेवि संघको बन्दसत्र अनिश्चित • Image Khabar Image Khabar


नेवि संघको बन्दसत्र अनिश्चित


Imagekhabar
२५ श्रावण २०७३, मंगलवार २१:४६

नेवि संघको बन्दसत्र अनिश्चित

काठमाडौं, साउन २५ । नेपाल कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनको बन्दसत्र अनिश्चित भएको छ ।

महाधिवेशन प्रतिनिधि विवादका कारण एक दिन पछाडि मंगलबार (आज) अपराह्न २ बजेका लागि निर्धारित् नेवि संघको बन्दसत्र विवाद टुंगिएको छैन ।

संघको महाधिवेशन उद्घाटन यही साउन २३ गते भएपनि अझै बन्दसत्रको टुंगो नलाग्दा मुलुकभरबाट आएका हजारौं विद्यार्थी नेता–कार्यकर्ता निर्वाचन हुने/नहुनेमा अन्योलमा छन् ।

मंगलबार दिनभरिमा प्रतिनिधि विवादको टुंगो लाग्नेगरी काम भइरहेको संघको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशक समिति सदस्य किशोरसिंह राठौरले जानकारी दिए ।

प्रतिनिधिको विवाद मिलेपछि सम्भवतः मंगलबारै बन्दसत्र सुरु हुनसक्ने उनले बताए ।

प्रतिनिधि विवादका कारण मंगलबार बिहानदेखि गर्ने भनिएको कार्ड वितरण पनि प्रभावित भएको र प्रतिनिधिको विवाद नमिलेसम्म बन्दसत्र हुन नसक्ने नेवि संघ कार्यालयका मुख्यसचिव शिव रिमालले जानकारी दिए । रिमालले मंगलबार बन्दसत्र हुने सम्भावना न्यून रहेको बताए ।

समयमै बन्दसत्र हुनुपर्ने माग गर्दै अहिले महाधिवेशनस्थल भृकुटीमन्डपमा विद्यार्थीहरु नाराबाजी गरिरहेका छन् ।

यसअघि, २०६४ सालमा चितवनमा भएको संघको १०औं महाधिवेशन पनि प्रतिनिधि विवादका कारण लम्बिएर एक सातामा निर्वाचन भएको थियो ।

‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औं महाधिवेशन’ भन्ने नाराकासाथ महाधिवेशन यही साउन २३ गतेदेखि सुरु भएको हो ।

करिब तीन हजार ४०० महाधिवेशन प्रतिनिधि रहने भनिएको नेवि संघमा ११ जिल्लाका प्रतिनिधिको अझै टुंगो लागेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्