काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरुले सरकारविरुद्ध मोर्चाबन्दी गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
राजनीतिक विश्लेषकहरुले भने त्यसलाई औचित्यहीन भनेका छन् ।
अझ संविधान नमान्ने शक्तिहरुसँग मिलेर आन्दोलन गर्ने कुराले कांग्रेसको इतिहासलाई नै चोट पुर्याउने विश्लेषकहरुको तर्क छ ।
रणनीतिक रुपमा नभई सामान्य कार्यक्रमका रुपमा गत चैत २९ गते प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलले एउटै मन्चबाट सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
जुन कार्यक्रममा वर्तमान संविधान नमान्ने शक्तिको उल्लेख्य उपस्थिति थियो भने संविधानको पक्षपोषक कांग्रेस मात्र थियो ।
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको समेत सोही कार्यक्रममा पत्र पढेर सुनाइयो ।
त्यसपछि के कांग्रेस संविधान नमान्ने शक्तिहरुसँग मोर्चा गरेर नै अघि बढ्न खोजेको त होइन भन्ने प्रश्न पनि उठिरहेको छ ।
यद्यपी, कांग्रेसले चन्द नेतृत्वको समूहले हत्या हिंसाको राजनीति छोड्नुपर्ने बताइरहेको छ ।
कांग्रेसले विपक्षी शक्तिका नाममा कुनै राजनीतिक हैसियत नै नभएकाहरुलाई समेटेर आन्दोलन गर्ने कुरा संविधानविपरीत रहेको राजनीतिक विश्लेषक पुरन्जन आचार्यको तर्क छ ।
आन्दोलन निहित उद्देश्यका लागि गरिन्छ । तर अहिले सरकारविरुद्ध आन्दोलन नै गर्नुपर्ने अवस्था आइनसकेको बुझाई बहुसंख्यकको छ ।
यद्यपी सरकारका विरुद्ध खबरदारी भने आवश्यक छ । आन्दोलनले एउटा उद्देश्य बोक्ने मात्र होइन, त्यसलाई निष्कर्षमा पुर्याउँछ ।
तर अहिले कम्युनिष्ट दुईतिहाईको सरकारको खिलापमा निष्कर्षमा पुग्ने गरी आन्दोलन हुने अवस्था नरहेको र सरकार पनि ढल्ने अवस्था नरहेकाले सरकार परिवर्तनमुखी अभिव्यक्ति र सरकार ढाल्ने आन्दोलनको कुराले कांग्रेसलाई थप कमजोर बनाउने बुझाइ विश्लेषक आचार्यको छ ।
बरु कांग्रेस नेतृत्वले आफ्ना कमजोरी ढाकछोप गर्न आन्दोलनको कुरा गरेको तर्क गर्छन आचार्य ।
अहिलेको संविधान कांग्रेस नेतृत्वमा बनेको कुरामा द्विमत छै्रन । सरकार र विपक्षी कांग्रेसबीच सबै कुरामा मन मिल्नुपर्छ भन्ने छैन ।
सरकारमा अराजक र स्वच्छाचारिता प्रवृत्ति हावी भए त्यसको विरुद्ध प्रतिपक्षीको खबरदारी अपेक्षित नै हुन्छ ।
तर संविधान नमान्ने शक्तिहरुसँग नै सांठगाँठ गरेर अघि बढ्दा आफ्नै नेतृत्वमा भएका परिवर्तनहरु बढारिने खतरातर्फ कांग्रेस नेतृत्वले पनि सोच्नुपर्ला कि ?









प्रतिक्रिया दिनुहोस्