पेशल आचार्य – अन्ततः कमरेड प्रचण्डको सत्तारोहणसँगै गएको २६ वर्षमा नेपालले सरकार गठनको रजत महोत्सव (२५ वटा सरकार) मनायो । नेताका पछि कुद्ने परिवर्तनकारी नेपालीलाई योभन्दा ठूलो संसदीय राजनीतिको उपहार अरू केही हुन सक्दैन ।
– छविलाल र प्रचण्ड हुँदै पुष्पकमल दहालमा रूपान्तरित प्रधानमन्त्री पुष्पकमल दहालले संसदीय राजनीतिलाई नै डेस्टिनेसन मान्नका लागि करिब १८ हजार मानिसहरूको रगतमा होली खेलेका रहेछन् । करिब नौ महिनाअघि आफैँले काँधमा बोकेका कम्युनिष्ट दर्शनका सगोत्री एमाले अध्यक्षलाई हठात् सत्ताबाट हटाएर उनी फेरि अङ्क गणितीय राजनीतिका पार्थ भए । अघि र पछिको नौ महिनाको सिनारियो बद्लिएको छ । हिजो प्रचण्डले ओली बोके आज देउवाले प्रचण्डलाई बोकेका छन् । हिजो मधेशी ओली–प्रचण्ड बठबन्धनका बाधक थिए, आज प्रचण्ड–देउवा हनिमुनका मधेशी ‘साधक’ भएका छन् । यद्यपि तराईको तीतोपना अझै हटेको छैन ।
– प्रचण्ड बाबुको राजनीतिको यो दोस्रो ‘इनिङ्’ सुरू भएको छ । बादलले मुखै फोरेर भनेछन् –‘प्रचण्डको असफलताले माओवादी केन्द्र सकिन्छ ।’ ठूलो चेपुवमा छन् –प्रचण्ड । भारत र चीन दुवैले बधाइसाथ जाल फेँकेका छन् । अब यिनी सकसमा परेका छन् । भारत जाऊँ कि चीन ? भ्रमणलाई नै इसु बनाउन प्रतिपक्षी एमाले ‘क्याट कर्नर’ बाट हेरिरहेको छ । बनाउनेवालासँग ‘दावत’ लिऊँ कि ‘सगोत्री’सँग ठूलै आपदा आइलागेको छ ।
– देउवाले प्रधानमन्त्री निर्वाचन बेला भाषणमै भने –‘साथी बदल्न मिल्ने तर छिमेकी बदल्न नमिल्ने ।’ यसमा गूढ रहस्य खोजिँदै छ । अङ्क गणीतीय तुरूपका साथ छिमेकीको इसारामा ‘साथी बदल्न मिल्ने’ भनिएको हो । हेर्दै जानु छ –तिनै साथीले फाष्ट ट्रयाक प्याकेजमा केके उपहारहरू बुगेमा लैजाने हुन् ?
– ओली संसदबाट सिधै बालकोट गए –आफ्ना सहयोगी र नाराबीच शेरगुल देखाउँदै । लाग्दथ्यो –ओलम्पिक खेलमा पदक जितेको प्रसिद्ध खेलाडीलाई नगर परिक्रमा गराइँदैछ । कति बाठा ओली हार्दा पनि बुद्धि पु¥याएर हार्न जान्ने ?
– प्रचण्डका घाँटीभरि माला देख्दा उनको भावी नौ महिने सत्तायात्रा त्यति सुखद् होलाजस्तो लाग्दैन । जति खुसहाल लाग्छन् । शपथका फूलमा सत्ताका झिनामसिना स्वार्थ टक्राउँदै गएपछि ती बबुरका काँडा हुन्छन् । दन्त्य कथाका ‘घिउ बेचुवा र तरबार बेचुवा’ का कथा अझै दृष्टान्त बनेकै छन् नेपाली राजनीतिक कोर्स कन्टेन्टमा ।
– मधेशी दलको संविधान संशोधनको ठिनो हटेकै छैन । ओलीका शब्दमा –‘१६ दलको उधारो तमसुक खेलाएर उनी सत्तामा जति रजगजसाथ बस्छन् त्यहाँ उनलाई पीडा हुनेछ ।’
– आफूले खान नपाएपछि अङ्गुर अमिलो हुने तर्क दन्त्य कथामै वर्णित थियो जहाँ एक जम्मु बारबार प्रयास सफल नभएपछि विरक्तिएको थियो । नेपाली राजनीतिको खडोस दृष्टान्त यही अघिल्लो कथा र पछिल्लो पहेलीले स्पष्ट पार्छ । नेपाली राजनीतिमा प्रचण्ड प्रवृत्ति त्यो अर्को ‘भारूण्ड’ नामक पंक्षी हो जो आफ्नो मुखबाट आफैँ अग्नि निकालेर स्वयम् भष्म खरानी हुन्थ्यो । शत्रुका दुःख समनका लागि आफूले आफैँलाई सफाया गर्दैछु भन्ने पनि हेक्का उसमा थिएन । संसद्भित्रका सवाल जवाफमा मिठो बोलेर कस्ले जित्छ त्यो सवाल होइन, सवाल जनतालाई दिइने सहयोग र सुशासन हो ।
– एमाले सांसद् लालबाबु पण्डित भन्छन् –‘माओवादी केन्द्रले जति नै तागत लगाए पनि एमाले फुटाउन सक्दैन । २१ सय जनाको केन्द्रीय सदस्य बनाए पनि त्यसले एमालेलाई कुनै असर गर्नेवाला छैन ।’
– यतिखेर नेपाली राजनीतिमा अन टेस्टेड राजनीतिज्ञ दुईजना छन् –एउटा नेपाली काँग्रेसका युवानेता गगन थापा र अर्का नेपाली राजनीतिका स्थायी प्रतिपक्ष मानिने नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे । समय यी दुवैलाई पृथक् शैलीमा टेष्ट गर्न खोज्दै छ ।
– अर्को रोचक के कुरा प्रचण्डका पालामा अब पुष्प व्यवसायले भने राम्रै प्रगति गर्ला किनकि यिनी नामका मात्र नभएर कामका पनि पुष्पप्रेमी छन् । त्यसैले सत्ता निकट् हुन नूतन अवतारमा अरू धेरै ‘सुमार्गी’ हरू यिनलाई पचास या सय केजीका पुष्पहार बीचबाट सत्कार गर्दै पूरै अवधि मालामय बनाउन उद्यत्त छन् ।
– तय भएको यिनको अष्ट्रेलिया भ्रमण रद्द हुनु, चिनीयाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमण रोक्नै सत्ता परिवर्तन गराइनु र संविधान कार्यान्वनका सिलसिलामा मभ्mधारमै रहेको मधेसी मोर्चालाई सत्ताको माखो बनाई नेपाली राजनीतिमा पुनःस्थापित गर्नु यी तीन घोषित र अन्य धेरै अघोषित उद्देश्य जो भारतको थियो । सोही कुरालाई सत्ताका खेलाडी देउवाको संसद् भाषणले झनै सिद्ध गरेको छ ।
– ओलीका पालामा अनुमानको खेती गर्ने बाल ज्योतिष (?) आदित्य दहाललाई सहयोग हुनु तर वैज्ञानिक अभियानका पर्यायवाची महावीर पुनलाई हेला गर्नु दूरगामी भविष्य हेरेर राजनीति गर्ने शैली ओलीको पक्कै होइन । बाँकी सरदर र तपसिलझैँ लाग्ने ग्यासका पाइपलाइन, रेलमार्ग र पानी जहाजका सपना भनेका कोटेश्वर चोकमा पाइने ‘भैया’का पानीपुरी मात्र हुन् । ‘ढाँटको निम्तो खाई पत्याउनु’ भनेझैँ बजेट विनियोयन सुको नगर्ने गफका डिङ् हाक्ने ।
– नेपालको राजनीति वृत्तीय रेखामा हिँडिरहेको छ । जो जहाँबाट हिँडे पनि एक फन्को मारेपछि फेरि सोही ठाउँमै आइपुग्छ । सरल रेखामा हिँड्ने हो भने त्यो हिजोको स्थानबाट आज निक्कैअघि र भोलि धेरै टाढा पुगिसकेको हुन्थ्यो । राजनीतिक वृत्तीय ‘एनाकोण्डा’ ले विकासका सपाट रेखालाई अजिङ्गरको आहार बनाएको धेरै भयो ।
– डा.केसीलाई फेरि नवौं पटकको आन्दोलन गर्नै पर्ने स्पेस प्रचण्ड सरकारले दियो भने सचेत नेपाली प्रचण्ड–देउवा गठबन्धनको ‘स्माइल’बाट शनैःशनैः टाढिनेछन् ।
– यहाँनेर तुलनीय छ –‘फ्लब’ हुन्छ भन्ने जान्दाजान्दै नेपाली सिनेमा उद्योगमा हात हाल्ने सरदर र तपसिले निर्माता, निर्देशक र हिरोहरूको शास्त्रीय शैलीजस्तो नेपाली संसदीय राजनीतिमा जेजुन भनिएका नयाँ अनुहारमा प्रधानमन्त्री आए पनि तिनीहरूले सारभूत रूपमा देश र जनताका लागि नयाँ भिजन र मिसनमा काम गर्न नसक्या नै हुन् । यति भन्न कुनै ‘ग्लुमी सन्डे’ को गीत नै सुन्नु पर्दैन ।
– ३९औं प्रधानमन्त्रीबाट बाहिरिनेक्रममा आफ्नो र पार्टीको साख जोगाउँदै सत्ताबाट बाहिरिए भने यिनले नेपाली जनहृदयमा स्थान बढाऊलान् नत्र एकथान फुटो सिँहदरबारमा झुण्ड्याउने लालसा मात्रै हो भने त्यो सकस यिनलाई राजनीतिक रूपमा सुभलाभ हुन्न । आखिर यति गीताज्ञान हुनु पर्ने यी छविलाल काकालाई । आखिर कुनै जमानामा स्याङ्जा र गोर्खातिर यिनी हाइस्कुलका मास्टर जो थिए ।
– नेपाली राजनीतिका ‘मुसा प्रवृत्ति’ सरकार विस्तारमा हावी नहोलान् भन्न सकिन्नँ । ओली काकाले सरकार थेग्नै ६÷६ जना उपप्रधानमन्त्री बनाएका थिए । त्यही सिको गरी छवि काकाले पनि जनतालाई लोप्पा नखुवाउलान् भन्न सकिन्नँ । आखिर सरकार १६ खुट्टे अविश्वासको कपाली तमसुकमा अडिएको छ ।
– ‘नयाँ संविधानमा राखिएको समानुपातिक निर्वाचन पद्दतिले कुनै पार्टीको बहुमत ल्याउन दिँदैन । यो भन्या सत्ताको बाँडीचुँडी भोग गर हो । अब हुने संविधान संशोधनमा यो कुरा संशोधन गरिएन भने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रावधान राखिएन भने त्यही सुविधामा टेकेर नेपाली राजनीतिका धेरै वर्षहरू क्याल्कुलेटर बोकेरै संसदीय सत्ताको फोहोरी खेल खेल्दै सरकार निर्माण र विगठनमै परिरहने पक्का छन् ।’ लामो मिलित वाक्यमा एकजना वकिलले टिप्पणी गरे ।
– ‘संसार जित्ने मानिस घरमा हार्छ । प्रचण्डले आफ्नै घरमा आफ्नी बुहारी र नातिनीलाई न्याय दिएका छैनन् । तमाम् भूकम्पपीडित, गरिब र नेपाली जनतालाई न्याय एवम् समानतामुखी गणतन्त्र दूर दराजका गाउँ गाउँमा चाँडै पस्केलान् भन्ने निश्चित छैन ।’ शपथमा प्रचण्डले लगाएका मालाहरू नओइलाउँदै यस्ता संवाद आइरहेका छन् ।
– चाहेर होस् या नचाहेर प्रचण्ड नेपाली राजनीतिको चक्रव्यूहमा फँसाइएका ती क्लान्त अभिमन्यु लाग्दैछन् जसको सकुसल बहिर्गमन असम्भव नभए पनि शीघ्र औ सजिलो अवतरण चाहिँ छैन ।
3:24 pm, Fri, 12 August 16
प्रतिक्रिया दिनुहोस्