Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


ठगी र चोरीका घट्नामा दाजुभाईकै संलग्नताः भारतीयसहित दाजुभाई पक्राउ


0
Shares

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुटपाट, ठगी र चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकाहरुमध्ये अधिकांश सरोहर दाजुभाई र पटक पटक जेल परेका  छन् ।

काठमाडौंको सामाखुशी बस्ने राजेश विकलाई सुन भनी १९ लाख बराबरको रकम लिएकोमा सुन नभइ फलाम भएको खुलेपछि उजुरीको आधारमा सो घटनामा संलग्न नुवाकोट बस्ने पूर्णबहादुर तामाङ, काभ्रेका चन्द्रबहादुर श्रेष्ठ, प्रविन श्रेष्ठ र सुवास श्रेष्ठलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए ।

उनीहरुको साथबाट ७० हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी नक्कली सुनलाई सक्कली भनी ठगी गर्ने स्वयम्भु बस्ने बेमान तामाङ पनि पक्राउ परेका छन् ।

यस्तै नक्कली विदेशी मुद्रा सटही गर्ने सिन्धुलीको एकै परिवारका दाजुभाई उमेश घिसिङ, प्रेम घिसिङ र दान बहादुर तामाङ पनि पक्राउ परेका छन् ।

यसैबीच चोरीमा संलग्न दोलखाका सुनिल श्रेष्ठ र अर्जुन श्रेष्ठको साथबाट मोबाइल, गहना लगायत नगद बरामद गरिएको छ ।

यता लुटपाटमा संलग्न तीन भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारीका दिपक जैसवाल, बिजु साह, र राजकुमार राम रहेका छन् । उनीहरुले मादक पदार्थ सेवन गर्नेहरुलाई लुट्दै आएको प्रहरीले जनाएको छ ।