१२ आश्विन २०८०, शुक्रबार | Sat Sep 30 2023


टर्कीका राष्ट्रपति अर्दोगानले शपथ लगत्तै ज्वाँईलाई बनाए मन्त्री


0
Shares

काठमाडौं, असार २६ । टर्कीमा रिसेप तैयप अर्दोगानले राष्ट्रपतिको शपथ लिए लगत्तै आफ्ना ज्वाई वेरात अल्बायराकलाई वित्त मन्त्री नियुक्त गरेका छन् ।

अल्बायराकले यस अघि उर्जा मन्त्रालय सम्हालेका थिए । यस्तै राष्ट्रपति अर्दोगानले सैन्य प्रमुख हुलुसी अकरलाई रक्षा मन्त्री नियुक्त गरेका छन् ।

गत महिना राष्ट्रपतिमा पुन निर्वाचित अर्दोगानले नयाँ शक्तिसहित मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

तर विपक्षीहरुले भने शक्तिशाली कार्यकारीको नयाँ भूमिकाबाट मुलुकको प्रजातन्त्र ध्वस्त हुने आशंका व्यक्त गरेका छन् ।

दुई वर्ष अघिको असफल कू पछि राष्ट्रपति अर्दोगान सरकारले हजारौं मानिसलाई कारवाही गरिसकेको छ ।

त्यसपछि आपतकालीन कानुन लागु गरेर सञ्चार माध्यम र विपक्षीलाई नियन्त्रण गरिएको छ ।

गत महिना मात्र अर्दोगान ५३ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले अभिव्यक्तिको ध्रुवीकरण, विपक्षीमाथि दमन र करिब १ लाख ६० हजार मानिसलाई जेलमा राख्ने जस्ता काम गरेका छन् ।

गत वर्षको जनमत संग्रहले विवादास्पद संवैधानिक परिवर्तनलाई अनुमोदन गरेपछि टर्कीमा संसदलाई कमजोर बनाइएको छ भने प्रधानमन्त्री पद नै हटाइ राष्ट्रपतिलाई अति शक्तिशाली बनाइएको छ ।

राष्ट्रपतिलाई मन्त्री, उपराष्ट्रपतिको नियुक्ति र कानुनी प्रणालीमा समेत दखल दिने शक्ति प्रदान गरिएको छ ।(एजेन्सी)