
-डा. अर्चना श्रेष्ठ जोशी
करिब ८२ बर्ष पछि २०७२ बैशाख १२ गते नेपालमा गएको म्याग्निच्युड ७.८ रेक्टर स्केलको भूकम्पले असंख्य रुपमा धनजनको क्षति भएको थियो । नेपालमा भएको प्राकृतिक बिपदमा संसारभरि छरिएर रहेका नेपालीहरुको मन पिडाले छटपटाएको थियो । नेपालका भुकम्प पीडितहरुलाई सहयोग गर्नका लागि नेपालीहरु मात्र नभएर बिभिन्न देशका सरकारी तथा गैर सरकारी संस्थाबाट मानिसहरु नेपालमा ओइरिएका थिए । त्यतिबेला नेपाल सरकार तथा नेपाली जनताहरु यस बिपदको लागि भौतिक रुपमा अनि मानसिक रुपमा कतै तयार थिएनन् ।
प्राकृतिक बिपदपछि भुकम्प पीडितहरुलाई कसरि सहयोग गर्ने भन्ने बारेमा पूर्व तयारी को कमि कमजोरिको बाबजुद पनि सरकारी, गैर सरकारी, अन्तराष्ट्ररिय संघ संस्थाले आ–आफ्नो क्षमता अनुरुप भूकम्प पीडितहरुलाई सहयोग गरे । गत बर्ष गएको भुकम्पबाट धेरैले भूकम्पबाट हुन सक्ने क्षतिको भयाभवतालाई मनन् गरिसकेका छन । त्यसैले नेपाल एउटा भुकम्पिय देश भएको र भबिष्यमा जान सक्ने भूकम्पको क्षतिलाई सक्दो कम गर्नको लागि, अहिले देखिनै पूर्व तयारी गर्न अति आवश्यक भइसकेको छ ।
जापान एउटा अति बिकसित देश अनि भूकम्पको लागि अति जोखिम देशमा गनिन्छ । गगनचुम्बी घरहरु, पहाडलाई चिरेर बनाइएका बाटाहरु, एउटा टापुबाट अर्को टापुमा जानका लागि समुन्द्रमाथिबाट जाने जहाजको बाटो बाहेक समुन्द्र भित्र बनाइएका रेल दौडिने सुरुङ्गका बाटाहरु, जापानीहरुले गरेका बिकासका अनगीन्ति पाटोहरु हुन । तर, भुकम्प, सुनामी, समुन्द्री आँधीबेरि जस्ता प्राकृतिक बिपदले यी संरचनाहरुलाई तहसनहस गरिदिन्छ । जापानीहरु फेरि त्यो बिपदलाई जित्ने संरचनाको तयारीमा जुट्छन अनि हरेक मानिसहरुलाई प्राकृतिक बिपदबाट आफू, आफ्नो परिवार र आफ्नो वरिपरिका मानिसको सुरक्षा कसरी गर्ने सम्बन्धि जानकारी दिन्छन ।
यसरी प्राकृतिक बिपदसंग लडदै अनि सिक्दै भूकम्प संगसंगै हल्लिने ठूलठूलाा गगनचुम्बिय घरहरुको निर्माण गरे, त्यो क्षणलाई प्राकृतिक प्रकोपलाई माथ दिएको भनेर देशबिदेशबाट प्रशंशा गरियो । जापानीहरु भन्ने गर्छन, प्राकृतिक बिपदलाई रोक्न त सकिन्दैन तर सम्भाबित क्षतिलाई सकेसम्म कम गर्नको लागि हर समय हर पक्षबाट पहल गरिनु पर्छ । शिक्षा, ज्ञान, सिपबाट यदि बढी भन्दा बढी मान्छेको जीवन बाँच्छ भने यस्तो पूर्व तयारी हरेक क्षेत्रबाट निरन्तर रुपमा जारी गरिरहनुमा नै बुद्धिमता रहेको उनीहरु बताउँछन् र हर सम्भब प्रयास गरिरहन्छन् ।
नेपालमा भूकम्प जाँदा जापान सरकार तथा जापानी संघ संस्थाबाट बिभिन्न सहयोग गरेको थिया । नेपाललाई सहयोग गर्ने धेरै संघ सस्था मध्ये आम्दा जापान पनि एउटा यस्तो संस्था हो, जसले नेपालमा भूकम्प गएको ४८ घन्टा भित्र पहिलो मेडिकल टिमलाई नेपाललमा पठाएको थियो । आम्दा नेपाल, नेपाल मेडिकल संघ तथा त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालको सहयोगमा आम्दाले भूकम्पबाट क्षतीग्रस्त क्षेत्र सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, ललितपुर, काठमाडौं, भक्तपुर आदि क्षेत्रमा अंतरंग स्वास्थ्य सेवा तथा मानसिक स्वास्थ्य सेवा प्रदान गरेको थियो । त्यस्तै गरि संचार माध्यम अहिलेको समाजको लागि नभइ नहुने साधन बनिसकेको छ र प्राकृतिक बिपदमा यसको आवश्यकता अझ बढि हुन्छ ।
आम्दाको सहयोगमा ईमेज च्यानलका संचारकर्मीहरुले प्राकतिक बिपदमा संचारकर्मीको भुमिकाको बारेमा जापानबाट तालिम लिइ २५ भागको भुकम्प सम्बन्धि कार्यक्रम ‘समय बैशाख १२’ प्रशारण गर्यो । उक्त कार्यक्रमले नेपाल तथा नेपालीलाई पुनःनिर्माण तथा भूकम्प सम्बन्धि चेतना जगाउन महत्वपूर्ण भुमिका निर्बाह गरेको छ ।
यस बर्ष २०१६को बैशाख २ मा पश्चिम जापानको क्युस्यु क्षेत्रको कुमामोतोमा ठुलो भुकम्प गयो । पुराना घरहरु भत्किए । ४९ जना को ज्यान गयो । जापान सरकार तथा गैर सरकारी संस्थाले तुरुन्तै उद्धार कार्यहरु सुरु गर्यो । पूर्व तयारी अनुसार आश्रय लिनको लागि तोकिएको ठाँउमा मानिसहरु जम्मा भए । पीडितहरुलाई तुरुन्तै बस्ने खाने औषधीको व्यवस्था गरियो । घर भत्किएर बास गुमाएका पीडितहरुलाई सरकारले तीन देखि चार महिना भित्र अस्थायी घरको ब्यबस्था गरिने घोषना गरियो र त्यतिबेलासम्म आश्रय लिंदै गरेको स्थानमा नै बसोबास गर्ने व्यवस्था गरियो । लामो समय सम्म स्कूल भबनमा आश्रय लिइ रहेका पीडितहरुलाई रमाइलो महशुस गराउनको लागि समय समयमा गीत संगीत तथा रमाइला कार्यक्रमहरु पनि सञ्चालन गरिदैं आएको छ ।
जापानमा गएको भूकम्पले नेपालीहरुको मन पनि पिडाले छटपटियो । आफूहरुलाई पिडा भएको बेलामा जापानले गरेको सहयोगलाई सम्झे । आम्दा नेपाल, नेपाल मेडिकल संघ, ओखायामा नेपाल समाज तथा नेपालीहरुबाट न्यानो माया र सहयोग आम्दा मार्फत कुमामोतोमा पठाइयो । आम्दाले भूकम्प गएदेखि कुमामोतोको मासुकि क्षेत्रमा रहेको हिरोयासु प्राथमिक बिद्यालयमा आश्रय लिई रहेका भूकम्प पीडितहरुलाई निरन्तर रुपमा स्वास्थ्य सेवा दिंदै आएको छ । भुकम्पको गएदेखि २ हप्तासम्म आकस्मिक मेडिकल सेवा प्रदान गरियो । दुई हप्ता पछि देखि आश्रय लिइरहेका भुकम्प पिडितहरुलाई अकुपञ्चर सेवा दिंदै आएको छ ।
यहि जुलाई महिनाको ३ तारिखमा हिरोयासु प्राथमिक विद्यालयका भूतपूर्ब विद्यार्थी संघले समर फेष्टिबलको आयोजना गर्यो । जुन कार्यक्रममा कुमामोतोका बासिन्दाहरु तथा आश्रय लिइरहेका पीडिहरुलाई नेपालीहरुको सन्देस पुर्याउनेको लागि आम्दाले पनि भाग लिने निर्णय गर्यो । नेपालबाट पठाइएको सन्देसको ब्यानरलाई पालको नजिकै टाङगियो र फेस्टिबलमा आएका तीनसय जना मानिसहरुलाई नेपाली मःमः बाँडियो । जापान भन्दा धेरै टाढाको देश नेपालबाट आफुहरुलाई पठाइएको न्यानो सन्देस अनि दिनभरि बेतोडले पानी परेको चिसो मौसममा तातो मःम ले उनीहरुको मन र आखाँ खुशीले भरिएको थियो । सगरमाथाको देश नेपाल तथा वुद्धको देश नेपालबाट पठाएको न्यानो मायाले पीडितहरुलाई थप खुशी थपेको थियो र भुकम्प पीडितहरुको समान पिडाले दुइ देश बीचको सम्बन्धलाई अझ प्रगाड बनाएको छ ।
देश जतिसुकै सम्पन्न भए पनि प्राकृतिक बिपदले कसलाई पनि छोड्दैन, जापानको सरकारी स्तरको पूर्व तयारी बाहेक हरेक मानिसको प्राकृतिक बिपद सम्बन्धि ज्ञान र पूर्व तयारीले गर्दा धेरै धनजन को क्षति हुनुबाट जोगिएको छ र जुन किसिमको सेवा पीडितले पाएको छ, उनीहरुको घाउमा मलमको काम गेरेको छ । नेपालका भुकम्प पीडितहरु अझै घरबार विहीन भएर जीवन ब्यतित गरिरहेको छन् । यसमा सम्बन्धित पक्षको छिटो भन्दा छिटो ध्यान जानु पर्दछ । कुनै पनि देशको भौगोलिक अवस्था एकै प्रकारको हुदैन् । प्राकृतिक बिपद सम्बन्धि ज्ञान र पूर्ब तयारीलाई नेपालको परिवेष सुहाउँदो रुपमा परिमार्जन गरि गाउँगाउँ शहर–शहरमा यस सम्बन्धी शिक्षालाई बिस्तार गराउनु आजको आवश्यकता हो ।
(लेखिका आम्दा जापानमा कार्यरत छिन्)
प्रतिक्रिया दिनुहोस्