
शंकर खनाल (इमेज)
काठमाडौं, भदौ २ । ओली सरकार विस्थापन गर्न सम्पूर्ण जोडबल लगाएर उत्रेको नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनाउन सफल भएपनि पार्टीका तर्फबाट सरकारमा जानेहरुको नाम भने अझै टुंगो लगाउन सकेको छैन ।
साउन १९ गते व्यवस्थापिका–संसदले नयाँ प्रधानमन्त्री छानेपनि कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण मन्त्रिमन्डलले पूर्णता पाउन नसकेको हो ।
अब भने भ्रातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशनसमेत सकाएको कांग्रेसले आगामी आइतबारसम्ममा आफ्ना मन्त्री सरकारमा पठाउने भएको छ ।
सरकारमा जाने मन्त्रीको नाममा सहमति जुटाउनुपर्ने बेलामै संगठनभित्र विशेष महत्व राख्ने भ्रातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशनको लफडा चर्केपछि कांग्रेसले मन्त्रीहरुको टुंगो गर्न नसकेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको शपथको दिन साउन २० मै केही प्रभावशाली नेतालाई पनि मन्त्री बनाउन सभापति शेरबहादुर देउवाले गरेको पहल पनि मन्त्रालयमा कुरा नमिल्दा त्यत्तिकै तुहिन पुगेको थियो ।
पहिलो चरणमा देउवाका विश्वास पात्र मानिएका विमलेन्द्र निधि र रमेश लेखकले उपप्रधान एवं गृह र भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी शपथ लिएका थिए ।
उक्त समयमा मन्त्री बनाउन ठीक पारिएका कांग्रेस नेता अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाले चाहेको मन्त्रालय नपाएपछि मन्त्री बन्न अस्वीकार गरेका थिए ।
फेरि त्यहीबेला वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आफ्नो पक्षलाई मन्त्रालयमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने दाबी गरेपछि सभापति देउवाले मन्त्रीको नाम टुंग्याउन सकेका थिएनन् ।
तर, अब भने नेविसंघको महाधिवेशन पनि सकिएकाले आगामी आइतबारसम्ममा मन्त्रीमन्डल विस्तार गर्ने गरी मन्त्री बन्नेको नाम पठाउने तयारी कांग्रेसले गरेको छ ।
पार्टीभित्रका गुट–उपगुटलाई थुम्थुम्याउनुपर्ने भएपछि सभापति देउवालाई नाम टुंग्याउन कठीन परेको हो ।
तैपनि, आन्तरिक गृहकार्य गरेपनि सभापति देउवाले पार्टीभित्र भने यसबारे अझै छलफल नगरेको पौडेल पक्षले आरोप लगाइरहेका छन् ।
नेता पौडेल पक्षलाई चार मन्त्री दिएर थुम्थुम्याउने पक्षमा सभापति देउवा भएपनि पौडेल पक्षले भने आफूहरुले पाँच मन्त्री पाउनुपर्ने अड्डी कसेका छन् ।
पौडेलपक्षले कोषाध्यक्ष सीता यादव, डा. शेखर कोइराला, दीपक गिरी र कमला पन्तलाई पठाउने करीब टुंगो गरेको छ । पाँचजना पाउने अवस्था भए अर्का एकजनाको नाम तुरुन्तै तय गरिने यो पक्षले जनाएको छ ।
देउवा पक्षका तर्फबाट भने नेता केसी, बालकृष्ण खाँण, भीष्मराज आङदम्बेलाई मन्त्रीमा पठाउने तयारी गरिएको छ ।
त्यसैगरी, जीवनबहादुर शाही, फरमुल्ला मन्सुर, रामहरि खतिवडाको नाम पनि सरकारमा जानेमा छ ।
मन्त्री बनाउँदा समावेशी र भूगोलसमेतलाई ख्याल गर्नुपर्ने भएकाले यसमा महिलालाई कसरी समेट्ने भन्नेमा देउवा र पौडेल दुबैपक्षले गृहकार्य गरिरहेका छन् ।
मन्त्री नहुँदा मन्त्रालयबाट गर्नुपर्ने कतिपय महत्वपूर्ण निर्णयहरु नै रोकिएका छन् भने साउनभित्रैदेखि बजेट कार्यान्वयन गर्ने सरकारी प्रतिबद्धतामा पनि ठेस लागेको छ ।
यस्तोमा मन्त्री बनाउनकै लागि पार्टीभित्र देखिएको किचलो रोक्न नसके कांग्रेसको प्रजातान्त्रिक भन्ने छबीमा पनि धब्बा लाग्नसक्नेछ नेताहरु सचेत बनुन् ।
प्रतिक्रिया दिनुहोस्