
काठमाडौं, भदौ २ । नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् ।
विहीबार दिउँसो सम्पन्न मतगणनामा पार्टी सभापति शेरबहादुर देउवानिकट महर १ हजार ३ सय ३७ मत प्राप्त गरी नेवि संघको अध्यक्षमा विजयी भएका हुन् ।
निर्वाचनमा उनका निकटतम् प्रतिद्धन्द्धी मनोजमणि आचार्यले १ हजार २ सय ९ मत प्राप्त गरे ।
नेवि संघको महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । महर, काफ्ले र थापा तीनैजना सभापति शेरबहादुर देउवा प्यानलका विद्यार्थी नेताहरु हुन् ।
महिला उपाध्यक्षमा उर्मिला थपलिया, कोषाध्यक्षमा शिव रिमाल विजयी भएका छन् । उनीहरु दुबैजना बरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् ।
विजयी भएपछि पत्रकारसँग कुरा गर्दै महरले आफूले अब नेपाल विद्यार्थी संघलाई सुदृढ गर्दै विद्यार्थीको हितमा काम गर्ने बताए ।
उनले संगठनमा गुटको प्रभाव पर्न नदिने दाबी पनि गरे ।
त्यस्तै, निकटतम् प्रतिद्धन्द्धी आचार्यले नयाँ समितिले विद्यार्थीको हितमा काम गर्न सकोस् भन्दै आफ्नो पूर्ण सहयोग रहने बताए ।
नयाँ नेतृत्व चयन गर्दै गत साउन २३ गते सुरु भएको नेवि संघको ११औं महाधिवेशन १२ दिनपछि विहीबार सम्पन्न भएको हो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्