झण्डा र देशलाई नै डिभी पर्यो भने ? • Image Khabar Image Khabar


झण्डा र देशलाई नै डिभी पर्यो भने ?


Imagekhabar
४ भाद्र २०७३, शनिबार १६:४५

झण्डा र देशलाई नै डिभी पर्यो भने ?

 पेशल आचार्य –

गएको दुई दसकमा नेपाल र नेपाली जनताको जीवनमा जमिन आसमानको फरक देखियो । नेपालका सबै हाँच र बोलीका नेताहरूले जानेर हुन या नजानेर ‘नयाँ नेपाल’ को रट लगाउन छाडेका छैनन् । भलै नयाँ नेपाल भित्रको गुह्यले नेपालको सुदूर भविष्यको मुहार कस्तो कुरूप बनाउने हो त्यो अहिल्यै पूर्वानुमान गरिहाल्न गाह्रो मात्र होइन प्रखर जटिलतम् पनि छ । नयाँ नेपालको नाममा पुरानो नेपाल नै विश्व मान चित्रमा नरहने पो हो कि ? राष्ट्रवादी र सच्चा नेपालीलाई अहिले यही सन्ताप मनमा व्याप्त छ ।

-तर यही बीचमा नेपालीहरूको जीवन स्तरमा नजानिँदो तबरले पार्थक्यता पाइएको छ । खानपिन, बसउठ, गोरखधन्दीय खर्चका तौरतरिका, महँगी, लवाइको फेसन, चाडबाड मनाउने पारा, बिहेको स्टायल, डिभोर्सका छनक, गृह आवासको शैली, मांस र मदिराको परिवारमा शनैःशनैः बढ्दो लोकप्रियता तथा राजनीतिमा देखिएका भद्दा र आडम्बरी रौनकहरूअति डरलाग्दा देखिन्छन् । पैसाको कन्चो नभएको निरीह कार्यकर्ताले कुनै पनि प्रकारका चुनाव नथेग्ने स्थिति देखिँदा छन् ।
-नेपालीको सोच, स्रोत र जीवन गतिदेखि लिएर राजनीति, शिक्षा, सञ्चार, समाज र समग्र देशकै मुहारमा आमूल परिवर्तन भएको छनक पाइन्छ ।सेयर बजारमा नेपालीको लगनीमैत्री झुकाब, बैँकमा नेपालीका खातामा राखिएका उरूङ् नगद, औपचारिक सामाजिक समारोहमा गहना गुरियाका पुरिया र नेपाली नारीहरूका चुरीफुरीभित्र देखिएका यी अमिल्दा फरकपनामा केही मात्रै सकारात्मक लक्षणहरूरहेका छन् भने बहुशः नकारात्मक लक्षणीय विम्बहरू प्रतिविम्बन भएको थाहा पाउन सकिन्छ ।
-नेपालीहरू अहिले विश्वका कुनाकुनामा आफ्ना र परिवारका तीर्यक भोक समनका लागि चारो चर्न हिँडेका छन् । करिब चालिस लाख नेपालीहरू यतिखेर विदेशका रेखापाखामा विभिन्न उद्योग र काममा पगाहा लागेर चरिरहेका छन् । अठारबीस हजार नेरूका लागि अरबका ताता मरूभूमिमा माछा छट्पटाएझैँ छट्पटाएका छन् । कोही मलेसियामा समस्याका सेकुवा बनेका र कोही कोरियामा काम नपाएर विना उद्देश्य भौंतारिइरहेका छन् । नेपालीका अनेक दुखीया समाचार हेर्दा र पढ्दा नेपालमा बस्ने तमाम नेपालीलाई निको लागेको छैन ।
-सिरियामा युद्ध हुन्छ त्यहाँ पनि नेपालीहरू चेपिन्छन् । इराक र अफगानिस्तानमा मारिनेमा नेपालीहरू नै पर्छन् । अमेरिकामा सडक दुर्घटना हुन्छ दुर्घटित हुनेमा नेपालीहरू नै पर्दछन् । मध्यपूर्व र युरोपमा पनि नेपाली सकसहीन जीवन बाँचेका छैनन् । रियल लाइफ र रिल लाइफमा जति भिन्नता हुन्छ त्यस्तै फेकबुकको जीवन र तीक्त भोगाइमा रहेको छ । विश्व साइकलयात्री पुष्कर शाह भन्थे –‘संसार सोचेजस्तो छैन । भोगेजस्तो छ । यस्तो लाग्छ दुःख पाउनैका लागि नेपालीहरू जन्मेका रहेछन् ।’ उनले ११ वर्ष साइकलमा विश्वको फेरो लगाएथे ।
-अब नेपालीहरूफगत् नेपाली मात्रकै परिचयमा अट्दैनन् । नेपाली आवरणले अबका नेपालीहरूको वैश्विक परिचय आँक्न सक्दैन ।पोष्टमोर्डन युगले त्यो बद्लावको तयारी गरेको छ । एकात्मकताको थोत्रो र पुरानो आवरणको मेखाला च्यातेर नेपालीहरू अब नयाँनयाँ कलेबरमा जोशका साथ देशविदेश बत्तिएका छन् ।
– पद र पैसामा नेपालीले गर्न नजानेका र नसकेका काम कतै देखिँदैनन् । कतै ती नासामा रिजन कार्की भएर देखिएका छन् । कतै ती महाधनाढ्यका रूपमा उपेन्द्र महतो र शेष घलेका नाममा उदाएका छन् । बेलायतमा मेयरको पद पाउने पनि नेपाली, मानवअधिकारका मुद्दामा तारिख धान्नेकुमार लामा पनि नेपाली । संयुक्त राष्ट्र संघमा युवा प्रतिनिधि मण्डलको नेतृत्व गर्ने पनि नेपाली । अमेरिकामा नेपालीको दुईपुस्ता व्यतित भैसक्यो । रसिया, युरोप र अष्ट्रेलियामा नेपालीले सान र मानसाथ जीवन जिउन लागेका छन् ।
– ‘पढेका पनि विदेश पढ्न नसकेका पनि विदेश । सिप भएका शिक्षित पनि विदेश, सीप नभएका अर्धशिक्षित पनि विदेश । देशमा मानव संशाधन र ऊर्जाको खाँचो परेका बेला विदेशबाट झिकाउनु पर्छ । गाउँघरमा मरौपरौ हुँदा सहयोग र निक्रह गर्ने छिमेकी पनि नपाइएला जस्तो भैसक्यो । वैदेशिक रोजगारीले नेपालीको सामाजिक संरचनामै डरलाग्दो बद्लाव ल्याइसक्यो भन्दैछन्’ –प्रबुद्ध समाजशास्त्रीहरू ।
-यस्तो लाग्छ –झण्डा र देशलाई पनि डिभी पर्ने हो भने नेपालमा नेपाली नै सिला खोज्ने दिन नआऊला भन्न सकिन्नँ । दृष्टांश कति हो कति ? फेहरिस्त दिएर साध्यै नहोला ।
– विदेशका नेपालीले नेपालको नाक राखेका बेला नेपालमा भने नेपालीको शासन गर्ने र राजनीतिका अन्त्यहीन नौटङ्की गर्ने शैलीले स्वयम् नेपाली नै आजित भए । वर्षेनी नेपालमा करिब २ हजार नेपालीले सडक दुर्घटनामा अनाहक जीवन गुमाइरहेका छन् । यातायात व्यवस्था जति चर्को रूपले नेपालमा देखिएको छ त्यो संसारका कुनै देशमा देखिएको छैन । सिण्डीकेट सिष्टम्ले नेपालको यातायात व्यवस्थालाई नराम्रोसँग गिजोलेको छ । एक समिति र व्यावसायीले घुमाई फिराइकन यातायातमा कब्जा जमाएका कारण अहिले सडक दुर्घटनाले महामारीको रूप लिएको पाइन्छ भनेर भनिन्छ ।
– यो ‘सिण्डीकेटीज्म’ यातायातमा मात्रै सिमित छैन । शिक्षामा बोर्डिङ् स्कुल, स्वास्थ्यमा मेडिकल कलेज नाममा अनि ब्रिज कोर्स पढाइहुने संस्थामा अनेक नाममा रहेका छन् । कथित राजनीतिक आन्दोलनका सिरियलहरूले पनि समाजका बाधक यी सिण्डीकेटको न जरा काट्न सके न काण्ड छिमल्नै । हुने खानेका लागि यही सिण्डीकेट मालामाल र पैसा कमाउने फालाफाल मेलो भयो । हुँदा खानेका लागि भने यो सिष्टमले काल निम्त्याएको निम्त्याएै छ । कुनै समाधानका सूत्र र मसिहा जन्मेनन् –देशमा ।
-खासमा यतिखेर नेपालका सबै किसिमका राजनीतिक आन्दोलनले महिजारो गरेको बेला छ । तर यो कुरा मान्न न राजनीतिक नेतृत्व तयार छ न तिनका मतियार भ्रातृ संघठनहरू नै । विकासको राजनीति गरेर मलेसियामा महाथिर महमद्ले,  सिङ्गापुरमा लि क्वान्ले, भेनेजुएलामा ह्युगो चाभेज, दक्षिण अफ्रिकामा मण्डेला र क्युबामा फिडेल क्यास्टा«ेले जस्तो व्यवस्थापीय शासन व्यवस्थापन गर्ने सिष्टम अवलम्बन नगरिने हो भने नेपालमा जस्तोसुकै नामका सिष्टम ल्याए पनि तीकेही दसकमा फेल भएर जाने देखिए । जनताहरू अहिलेयही भन्दैछन् ।
-काँग्रेसको भ्रातृ संगठन नेविसंघको निर्वाचनले साउनमा यही दृष्टान्त देखायो । ११ वर्षमा भएको महाधिवेशनमा देउवा, रामचन्द्र र सिटौलाहरू नै लगौंटी फुकालेर चुनावी मैदानमा भिडे भलै यसपटक देउवाले सिटौलाका काँधमा बन्दुक राखेर राम्ररी नतिजा हात पारे । बन्द सत्रको चलनलाई माथ गर्दै यसपटक नेविसंघले बन्द अठार  ग¥यो । अर्को एकपटक रामचन्द्र जिल्लाराम मात्र भएनन् ठन्डाराम भएका छन् । नेविसंघको रुद्री र काँग्रेसको हवनले संसारै हँसायो ।
-महाधिवेशन कै निहूँमा काँग्रेसले आफ्ना भागमा परेका मन्त्री छान्न सकेन । संसारमा कहीँ कतै पनि चुनावमा तेस्रो स्थान ल्याएर चुनाव जितेको पार्टीलाई पहिलो स्थान ल्याएको पार्टीले मानेर सरकारमा गएको इतिहास छैन । ६÷६ महिना या ९÷९ महिनामा सरकार बनाउँदै ढाल्दै जाने हो भने नयाँ संविधानमार्फत् नेपालीले सँगालेको दूरदराजको जुन उद्देश्य छ–संघीयता, धर्मनिरपेक्षता र समावेशी गणतन्त्रको सपना त्यो बलेँसीको पानीफोका सावित नहोला भन्न सकिन्नँ । गणतन्त्र प्रकारान्तरले ‘गाँडतन्त्र’ हुने दृष्टान्त जो देखाइरहेको छ । त्यसो नहोस् ।
-विगत् एक वर्षदेखि देशमा पन्पिएका ‘लोकमानतन्त्र’, स्वघोषित राष्ट्रवाद र अहिले तीनबुँदे सहमतिमार्फत् ‘दादे’ (दहाल÷देउवा) हरूको शासनको ‘कालेकाले मिलेर खाऊँ भाले’ प्रवृत्तिले सोही कुरा द्योतन गर्दछ । सडकमा आएर जतिसुकैपटक डा. गोविन्द केसी र महावीर पुनहरू चिच्याउन त्यो यस्ता बाहुबली सरकारले सुन्ने र टेर्ने मेसो अपनाएको देखिएन । ‘बूढी मरी होइन काल पल्क्यो’ भन्ने नै चिन्ताको मूल विषय अहिलेलाई यही हो ।

प्रतिक्रिया दिनुहोस्