
अपडेट
काठमाडौं, भदौ ४ । पाँचदिने चीन भ्रमण सकेर शनिबार स्वदेश फर्केका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनका राष्ट्रपति र प्रधानमन्त्री नेपाल भ्रमण गर्न सकारात्मक भएको बताएका छन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री महराले चीनका विदेशमन्त्री वाङ यीमार्फत् आफूले चीनको राष्ट्रपतिलाई राष्ट्रपति विद्यादेवी भण्डारीको नेपाल भ्रमणको निम्तो र चिनियाँ प्रधानमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहालको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेको जानकारी दिए ।
प्रधानमन्त्री दाहालका विशेष दूतकारुपमा चीन पुगेका महरालाई चिनियाँ प्रधानमन्त्री लि खछ्याङले आफूहरु सकारात्मक रहेको र दुबै देशको परराष्ट्र मन्त्रालयलाई तयारी अवस्थामा राख्ने कुरा बताएका थिए ।
अर्थमन्त्री महराले चिनियाँ प्रधानमन्त्री लिलाई नेपालको वर्तमान राजनीतिक परिस्थिति, नयाँ सरकार गठन, नयाँ सरकारको दायित्वकाबारेमा जानकारी दिँदै चीनसँग विगतका सरकारले गरेका सम्झौताहरु पालना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
भेटमा चिनियाँ प्रधानमन्त्री लिले नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उपप्रधानमन्त्री महराले बताए ।
प्रतिक्रिया दिनुहोस्