२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


जानकी माता सीताजी माथि पनि अन्याय !


182
Shares

आदित्यमान श्रेष्ठ –

भारतसितको सम्बन्ध रोटीबेटीको छ ,भनिन्छ। हुन पनि हो अहिले मात्र होर्इन सदियौं देखि अझ भनौं युग युगान्तर देखि यो सम्बन्ध जोडिएको पाइन्छ । पाँच हजार वर्ष अगाडि रामायण कालमा यो रोटीबेटीको सम्बन्ध जोडिएको रहेछ । रामायण कै कथामा अयोध्या राज्यका राम र जनकपुर राज्यकी सीताको विवाह भएको स्थापित भएको छ । वर्त्तमान परिपेक्षमा हेर्दा भारतका दुलाहा राम र नेपालकी दुलही सीताको वैवाहिक सम्बन्ध भएको थियो ।  यो पौराणिक भन्नुस् या एतिहासिक भन्नुस् हिन्दूहरूको यो ग्रंन्थलार्इ मान्ने, सुन्ने र मनन गर्ने जमात एक अरब भन्दा ठुलो छ । भारत, नेपाल र हिन्दूहरूको बसोबास भएका अन्य मुलुकहरूमा यो कथा भक्तिपूर्वक सुनिन्छ । यसै कथाबाट प्रेरित भएर अनेक नैतिकता, त्याग, भक्ति, पतिव्रता, पत्नीप्रेम इत्यादिको उदाहरण दिने गरिन्छ । तर के हामीले कहिले नेपाली छोरी भएकी सिता माथि भारतका सम्राट रामले कति अन्याय गरेका रहे छन् भनेर सोंचेका छौं ? नसोचेको  भए सोंच्ने बेला भइसकेको छ । किनभने नेपालीहरू माथि भारतले गरेको थिचोमिचो र अन्यायको यो एउटा बलियो उदाहरण हो ।

सीता फगतमा रावणको अपहरणमा परेकी थिइनन् । एकातिर रावणको षडयन्त्र र अर्कोतिर राम र लक्ष्मणको लावरवाहीको शिकार बनेकी थिइन् । अपहरणमा परेकी सीतालार्इ रावणको बगैंचामा राखिएको र राक्षस्नीहरूको निगरानीमा राखिएकी थिइन् । सीतालार्इ रावणको दरवार भित्र लगेको रामायणमा कतै बयान छैन । यसको प्रत्यक्षदर्शी खुद हनुमान थिए । सीताको पतिव्रता हरण हुने शंका र सम्भावित आशंका बारे रामायणका कतै उल्लेख छैन । यसको अरू प्रमाण चाहिएमा रावणकी माहारानी मन्दोदरी थिइन् । त्यसो हुँदाहुँदै रामको रावण माथि विजय पछि सीताको अग्नी परिक्षा गरिएको थियो । सो परिक्षा गरिनुको मतलब सीताको सतित्व माथि शंका गर्नु थियो । के सीताको शारिरिक अवस्था, मानसिक अवस्था र व्यवहारबाट तिनी पवित्र छिन् भन्ने थाहा हुन्न थियो ?यसको माने राम आफैलाइ सीताको पवित्रतामा विश्वास नभएको देखिन्न : के कुनै पतिव्रता तोडेकी स्त्रीको लक्षणबाट सो तथ्य खुल्दैन ? त्यसतो भएको रामायणमा कतै उल्लेख भएको पाइन्न । हुन त एउटा नेपाली चेलीको स्वभावले ओतप्रोत भएकी सीताले अग्नी परिक्षा दिइन् र सफल पनि भइन् । त्यसपछि मात्र तिनीलाइ अयोध्याको सिंहासनमा बस्ने मौका दिइयो । तर पुनः एउटा धोबीको बकवास सुनेर रामले सीतालार्इ बनवास पठाए । के यो अर्को अन्याय थिएन ? सिताले बनवास कालमा लव र कुश दुर्इ छोरा जन्माइन् । यी बालकहरूले अयोध्या शहरमा गएर सीताको दर्दनाक बयान गरे पछि तिनलार्इ राजदरबार फर्काउने निधो भयो । तर पुनः तिनले अग्नीपरीक्षा दिनु पर्ने भयो । रामको यस्तो निर्णय सुनेर सीता विक्षिप्त भइन् र जसरी  जमिनबाट निस्केकी थिइन् उसरी नै जमिन भित्र प्रवेश गरिन् । के यसबाट पनि राम र भारतवासी उनका प्रजाको अाँखा खुलेन ? एउटी नेपाली चेलीमाथि भएको अन्याय प्रति आज सम्म पनि कुनै आवाज निस्केको छैन । के तिनी भारतकी छोरी भएको भए त्यहाँका धर्मावलम्बीहरू, विद्वानहरू र मानव अधिकारकर्मीहरूले यस विरूद्ध आवाज निकाल्दैन थिए ?

भारतसित रोटीबेटीको सम्बन्धको चर्चा गर्ने हाम्रा  मधेसका नेताहरूले पनि यस विषयमा रूचि लिएका छैनन् । हुन त उनीहरूले पहाडियाहरूले गरेको अन्याय मात्र देख्ने गरेका छन् । भारतीयहरूले नेपाल र नेपाली माथि गरेको अन्याय अत्याचार देखे कै छैनन् या देखेर पनि नदेखेको गरी बस्ने गरेका छन् या देखेर पनि बोल्ने गरेका छैनन् । नेपालीले भारतीय चेली विवाह गरी ल्याउँदा तुरन्त नागरिकता पाउन नसकेकोमा हंगामा मचाउँछन् तर भारतीयले नेपाली चेली विवाह गरेर लगे पछि वर्षौं सम्म पनि भारतीय नागरिकता पाउन नसकेकोमा किन चुप लागेर बस्दछन् ? जे भए पनि उनीहरूले यसलार्इ सरोकारको विषय बनाएका छैनन् । होइन भने नेपाल भित्रको कम्लरी प्रथा समाप्त पार्नु पर्छ भनेर कराउनेहरू भारतमा लाखौं नेपाली चेलीहरूले पाएको र पाइ नै रहेको दुःख, अत्याचार र अन्याय विरूद्ध आवाज उठाउनु पर्ने होइन ?के मदेशका नेताहरू जनकपुरधाममा जानकी याने सीताको मन्दिरमा चढाइने भेटीमा मात्र रूचि राख्दछन् ? उही जानकीमाथि परेको भारतीय प्रहार र अन्याय प्रति के ध्यान जानु पर्दैन ?

जानकी माथि गरिएको अन्यायको अर्को प्रमाण हो एउटा प्रचलित सूक्ति । त्यो हो “अहिल्या द्रौपदी तारा कुन्ती मन्दोदरी तथा, पञ्च कन्याः स्मरेन्नित्यं माहापातक नाशनम् ।” यसको माने हो — अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरी, यी पाँच कन्याको पूजा गर्नाले पाप नाश हुन्छ । यी कन्याहरूको पृष्ठभूमि र कथा कस्तो थियो भन्ने रोचक छ । अहिल्या, तारा र मन्दोदरी रामायण कै मात्र हुन् । कुन्ती र द्रौपदी माहाभारतका मात्र हुन् । अहिल्या पर पुरूषसित लसपस गरेको थाहा पाएर उनका पति एक ऋषीले श्राप दिएका थिए र पत्थरमा परिवर्तन भएकी थिइन् । तारा सुग्रिबकी पत्नीलार्इ जबर्जस्ति उनको दाइ बालीको पत्नी भएकी थिइन् तर पछि पुनः उनैसित फर्किन् । मन्दोदरी रावणकी माहारानि थिइन् । उनको मृत्यु भए पछि उनका भार्इ विभिषणसित विवाह गरिन् । कुन्तीले परपुरूषको सम्बन्धबाट तीन पुत्र जन्माइन् । द्रौपदीको पाँच लोग्ने थिए । हिन्दु धर्मावलम्बीहरूले यिनीहरूलार्इ पवित्र कन्या मानेर पूजा गर्द छन् । तर पवित्रता, पतिव्रता र चरित्रवान मानिएकी सीतालार्इ यो सूक्तिमा समावेश गरिएन । किन ? के जानकी माताको पनि यसैगरी पूजा र आराधना गरिनु पर्ने सूक्ति किन बनाइएन? सूक्ति बनाउने भारतीय विद्वानहरूले जानाजानि नेपाल कै चेलीबेटी भएकोले सीताजी माथि अन्याय गरेको ठहरिदैंन ?

सीताजी माथि गरिएको यो अन्यायको लागि भारतले नेपालसित क्षमा माग्नै पर्दछ । यस्तो क्षमा माग्ने चलन संसारमा छ । चिनिया र कोरियाका महिलाहरूलार्इ दोस्रो माहायुद्धमा जापानीहरूले यौन शोसण गरेका थिए । जापानी सरकारले यस अन्यायको लागि माफी मागे र क्षतिपूर्ति पनि गरे । भारतकै एकजना नेता शशी थरूरले बेलायतले भारतमा दुर्इ सय वर्ष गरेको शासन र शोषणको क्षतिपूर्ति गर्नु पर्छ भनेर माँग गरेका छन् । यो माँगको भारतका प्रधानमन्त्री मोदीले खुलेर समर्थन गरेका छन् । यो अन्तर्राष्टिय प्रचलन अनुसार भारतले नेपाललार्इ सीता जानकी माथि गरिएको अन्यायको लागि माफी माग्नु पर्द छ र क्षतिपूर्ति पनि दिनु पर्दछ । यस्तो क्षतिपूर्तिको रकम जनकपुरधामको विकासमा लगाइनु पर्दछ ।

यो कुरा नेपाल सरकारले उठाओस् । यदि उठाइएन भने विश्व हिन्दू परिषदले उठाओस् । त्यो पनि उठेन भने कुनै पनि नेपालीले उठाइ देओस् । जसरी भए पनि नेपाली छोरी सीताजीले न्याय पाउनै पर्द छ ।