२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


‘मन्त्रिपरिषदले मंगलबारसम्म पूर्णता पाउने’


0
Shares

                                                               फाइल फोटो

काठमाडौं, भदौ ६ । मन्त्रिपरिषदले मंगलबारसम्म पूर्णता पाउने भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भेटी मंगलबारसम्म आफ्नो नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाउने जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

भेटमा उपराष्ट्रपतिले उपराष्ट्रपतिको कार्यालय र आवासकाबारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उपराष्ट्रपतिले अन्तरिम संविधान २०६३ को व्यवस्थानुसार उपराष्ट्रपतिको व्यवस्था भएपनि हालसम्म उपराष्ट्रपति कार्यालयको आफ्नै भवन नभएकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले उपराष्ट्रपतिको कार्यालय र आवास एउटै स्थानमा हुने गरी उपराष्ट्रपति भवनका लागि स्थान तोकिदिन प्रधानमन्त्रीलाई अनुरोध गरे ।

प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको कार्यालय र निवास भवनका लागि आफू गम्भीर भएको बताउँदै मन्त्रिपरिषदले पूर्णता पाउनासाथ निर्णय लिइने बताए । रासस