
काठमाडौं, भदौ ७ । सोमबार शेयरबजार करिब स्थीरजसो रह्यो ।
अघिल्लो दिन ४० अंक बराबरले झरेको बजार परिसूचक यसदिन उतार–चढावबीच करिब डेढ अंकजसोलेमात्र ऋणात्मक रहेर थामियो ।
नेप्से १६ सय ८१ दशमलव आठ छ कायम भएर थामिएको हो । यसदिन आधा समूह सकारात्मक रहे भने आधा ऋणात्मक रहे ।
उत्पादनमूलक, बीमा, वित्त र अन्य समूह ऋणात्मक रहे । उत्पादनमूलक समूह सबैभन्दा उच्च ४८ अंकले झर्यो । बीमा समूहमा पनि ३९ अंक बराबरको गिरावट आयो ।
जलविद्युत्, होटल, विकास बैंक र वाणिज्य बैंक समूह भने सकारात्मक रहे । जलविद्युत् समूह १५ अंकले उकालो लागे पनि अरु बाँकी समूह भने सामान्य अंकले धनात्मक रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३९ कम्पनीको १४ लाख ५२ हजार कित्ता शेयर ८८ करोड २० लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसैबीच, धितोपत्र बोर्डले नगद लाभांस तथा सार्वजनिक निश्कासनमा फिर्ता भुक्तानी लगानीकर्ताको बैंक खातामै जम्मा हुने व्यवस्था गर्न सम्पूर्ण सेयर रजिस्ट्रार, निस्काशन तथा बिक्री प्रबन्धकहरुका साथै सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्