२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024


इटालीमा शक्तिशाली भूकम्प, ३७ जनाको मृत्यु, २० सेकेन्डसम्म धक्का (फोटोफिचर)


0
Shares

अपडेट

काठमाडौं, भदौ ८ । इटालीमा बुधबार गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।

राजधानी रोमनजिक रहेको पेरुगिए सहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ६.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।

घाइते २० भन्दा बढीलाई अस्पताल लगिएको छ । कम्तिमा १ सय ५० जना हराइरहेका छन् । भग्नावशेषमा पुरिएका केहीको भने जीवितै उद्धार गरिएको छ ।

मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।

अमाट्रिसे सहरका मेयरकाअनुसार सहरको आधाभाग पूर्णरुपमा ध्वस्त भएको छ ।

यस्तै, अकुमोली सहरमा पनि थुप्रै घर भत्किएको बताइएको छ । पेरुगिए सहरको आधाभाग नै ध्वस्त भएको बताइएको छ ।

स्थानीय समयअनुसार बुधबार बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराइ १० किलोमिटरमात्रै रहेको छ ।

भूकम्पको धक्का रोममा पनि महसुस भएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो ।

इटालीमा सन् २००९ मा गएको ६.३ म्याग्निच्यूडको भूकम्पमा परी ३ सयभन्दा बढीको मृत्यु भएको थियो । (एजेन्सी)