
केशव भण्डारी (इमेज)
बुटवल, भदौ ९ । बुटवलको मोतिपुरमा प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र आगामी तीन वर्षभित्र सन्चालनमा आउने दाबी सरोकारवालाहरुले गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघ र औद्योगिक व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको विषयमा गरेको कार्यक्रममा तीन वर्षभित्रमा उद्योग सन्चालनमा आउने गरी काम अगाडि बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दाबी गरेको हो ।
लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले २०७६ भित्रमा उद्योग सन्चालन हुने दाबी गरे ।
सरकारले भदौभित्र विस्तृत् परियोजना अध्ययन (डीपीआर)को प्रतिवेदन पठाउने उनको भनाइ छ । रकमान्तर गरेर भएपनि औद्योगिक क्षेत्रको काम द्रुतगतिमा अघि बढ्ने बस्नेतले बताए ।
डीपीआरका लागि सरकारले पाँच करोड रुपैयाँ विनियोजनसमेत गरिसकेको उनले जानकारी दिए ।
औद्योगिक क्षेत्रका लागि फर्साटिकर, अमुवा, साविकको मोतिपुर, आनन्दवन, टिकुलीगढ गाविसमा करिब आठ सय १४ विगाहा जग्गा सरकारले आफ्नो स्वामित्वमा लिइसकेको छ ।
सरकारले देशका सातओटा प्रदेशमा निर्माण गर्न लागेका औद्योगिक क्षेत्रमध्येको मोतिपुर औद्योगिक क्षेत्र एक हो ।
केही स्थानीय बासिन्दाले लामो समयदेखि बसोबास गर्दै आएको जग्गालाई सरकारले विस्थापित गर्न खोजेको भन्दै आफ्ना मागहरु पूरा हुनुपर्ने बताएका छन् ।
उद्योगी–व्यवसायीहरुले एक दशकअगाडिदेखि नै औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्दै आएका थिए ।
तीन वर्षभित्र औद्योगिक क्षेत्रभित्र सडक, विद्युत्, पानी, औद्योगिक भवन, ढल निकास निर्माण बनिसक्ने बताइएको छ ।
यो औद्योगिक क्षेत्रमा १० वर्षमा १० लाख जनतालाई रोजगारी दिने योजना सरकारको छ ।
२०४२ सालपछि नेपालमा कुनैपनि नयाँ औद्योगिक क्षेत्र स्थापना हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्