
काठमाडौं, भदौ १० । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका केही सदस्यले तोकिएकै समयमा महाधिवेशन गर्न माग गरेका छन् ।
उनीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी तोकिएकै समयमा विधानसम्मत ढंगले महाधिवेशन गर्न माग गरेका हुन् । हालसम्म २६ वटा जिल्लामा महाधिवेशन हुन नसकेको र अझै केही जिल्लामा विवाद भएको भन्दै भागवण्डाको आधारमा नभई निष्पक्ष रुपमा महाधिवेशन गर्न उनीहरुले माग गरेका हुन् ।
एक दशकपछि हुन लागेको महाधिवेशनमा उमेर वा अरु कुनै प्रकारको बन्देज नलगाई सबैलाई भाग लिने वातावरण बनाउन पनि उनीहरुले नेतृत्वसँग माग गरे ।
अहिलेसम्म कार्य समिति समायोजन नगरेको र सदस्यता वितरणको प्रक्रिया शुरु नभएका भक्तपुर, बारा, सप्तरी, धनुषालगायत जिल्लामा अपारदर्शी ढंगले सदस्यता वितरण गरिएको भन्दै उनीहरुले रद्द गर्न माग गरेका छन् ।
तरुण दलका नेताहरु टेकराज पौडेल, मेदनी सिटौला, रमेशप्रसाद खरेल, गोविन्द रानाभाट, सरिता केसीलगायत २२ जनाले संयुक्त हस्ताक्षर गरी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल तरुण दलले यही भदौ २३ गते पोखरामा महाधिवेशन गर्ने तयारी गरेको छ ।
यसअघि कांग्रेसको अर्को भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा पनि महाधिवेशनको मुखमै सदस्यता वितरण सम्बन्धी विवाद चुलिदा महाधिवेशन लम्बिएको थियो ।
प्रतिक्रिया दिनुहोस्